‘विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ’

काठमाडौं, असोज ४ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताउनुभएको छ।
सुन्दर ट्रेडर्स प्रालिले मंगलबार आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शनी कार्यक्रममा निर्देशक घिसिङले विद्युतको प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताउनुभयो। सवारीसाधनलगायतमा विद्युत्को प्रयोग बढाउन सकिने उहाँको धारणा छ। “पहिले लोडसेडिङ हुने समयमा विद्युतीय सामान कल्पना नै गर्न नसकिने भए पनि अहिले त्यसको प्रयोग बढाउन भनिरहेका छौँ”, निर्देशक घिसिङले भन्नुभयो।
अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो। उहाँका अनुसार अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ। विद्युतीय सवारीसाधनले सञ्चालन खर्च कम भएका आधारमा यात्रुलाई छुट दिनुपर्ने उहाँले बताउनुभयो। घिसिङले भन्नुभयो, “एक पटक किन्न बढी रकम भए पनि त्यसको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा कम छ।”
सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले ट्रलिबस पुनः सञ्चालनका लागि जिम्मेवारी दिन सरकार समक्ष माग गर्नुभयो। आफूले जिम्मेवारी पाएमा तीन महिनामा सञ्चालन गर्न सक्ने उहाँको दाबी छ। रासस