भारतबाट दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति

काठमाडौँ, असोज ५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ ।

चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो । त्यहीअनुसार कृषि मन्त्रालयले गत आइतबार सो अनुमति दिएको हो । असोज मसान्तसम्मका लागि सो अनुमति दिइएको डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।

प्रतिदिन एक लाख २० हजार लिटर दूध आयात गर्न अनुमति दिएको छ । त्यसमध्ये सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डीडीसी) लाई ४० हजार र निजी क्षेत्रका डेरीलाई ८० हजार लिटर दैनिक रूपमा ल्याउन दिने अनुमति दिएको छ ।

कोरोना महामारीका कारण डीडीसीलगायत निजी दुग्ध उद्योगलाई दूधको अभाव भएको दाबी गरिएको छ । दूध सङ्कलन कम भएका कारण अहिले बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री ४० प्रतिशत कटौती भएको ती उद्योगले जनाएका छन् ।

मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको डेरी उद्योग सङ्घले जनाएको छ । डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूधको अभाव रहेको छ ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले अहिले दूधको अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहको जानकारी दिनुभयो । “चाडपर्व सुरु भइसकेको छ तर बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थ पु¥याउन सकिएको छैन,” उहाँले भन्नुभयो ।

कोभिड–१९ महामारीका कारण पशुको दाना, चोकर र आहार आदि अभाव हुँदा दूध उत्पादन घटेको बताइएको छ । कच्चा दूध अभावका कारण बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थको माग पूरा गर्न नसकेको भन्दै डेरी उद्योग सङ्घले केही समयका लागि भए पनि भारतबाट कच्चा दूध आयात खुला गर्न माग गरेको थियो ।

कृषि मन्त्रालयले यसरी दूध आयातको अनुमति दिएपछि केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलगायत सङ्घसंस्थाले विरोध गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले पत्रकार सम्मेलन गरी र केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले प्रेस विज्ञप्ति जारी गरेर त्यसको विरोध गरेको छ ।

चितवन समाचारदाताका अनुसार नेपालको मागअनुसारको दूध यहीँ उत्पादन भइरहेको अवस्थामा विभिन्न बहाना बनाएर भारतबाट आयात गर्ने तयारी गरेकोमा सहकारी सङ्घले विरोध जनाएको छ । सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले चितवन जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीबाट खरिद गरेको दूधको पैसा नतिर्ने डेरी उद्योगले भारतबाट नगद तिरेर ल्याउन नपाउने उहाँले बताउनुभयो । नेपाललाई अहिले कति परिमाणमा दूध आवश्यक छ भन्ने सरकारसँग तथ्याङ्क छैन । सङ्घका अनुसार २०७५ सालदेखि भारतबाट नेपालमा दूध ल्याउन बन्द गरिएको थियो ।

भारतबाट दूध आयात भएमा नारायणगढमा किसान भेला गरेर भारतबाट ल्याएको दूध नारायणी नदीमा बगाइदिने चेतावनीसमेत सङ्घले दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter