प्राधिकरणले जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण विस्तार गरिँदै

काठमाडौं, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौँ उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब दुई करोड रुपियाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिने छ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ ।

जापानको सहयोगमा काठमाडौँ उपत्यकाको थापाथली, महाराजगन्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिने छन् ।

सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत ब्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौँ र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

आयोजना कार्यान्वयनका लागि बुधवार नेपाल सरकारकारतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गर्नुभयो । त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गर्नुभयो ।

आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेसन निर्माण गरिने छ । सबस्टेसनको क्षमता ९० एमभिए रहने छ । सबस्टेसनबाट विद्युत् वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगन्ज हुँदै राजदरबार ल्याइने छ । महाराजगन्ज र राजदरबारमा १३२/११ केभीका एक/एक सबस्टेसन निर्माण हुनेछन् । सबस्टेसनको क्षमता ६०/६० एमभिए रहने छ । यसैगरी, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ । सबस्टेसनको क्षमता ६० एमभिए रहने छ । तीन वटै सबस्टेसनहरुबाट स्थानीय रूपमा विद्युत् वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter