विश्व पर्यटन दिवसको अवसरमा कन्याममा फोटो प्रतियोगिता

प्रेम अधिकारी / इलाम, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।

पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता गरेको थियो । २८ जना फोटोग्राफरले भाग लिएको उक्त प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा सूर्योदय १० का निशान्त रानाले कन्यामको रात्रिकालीन फोटो खिचेर प्रथम हुनु भएको छ । त्यस्तै सूर्योदयकै सुन्दर मैनालीले खिच्नु भएको कन्याबाट देखिने हिमालको दृश्य सहितको फोटोले दोस्रो स्थान पाएको छ ।

त्यस्तै झापा मेचीनगरका चराखोजकर्ता देवेन खरेले सूर्योदय १ को सिमधापमा खिच्नु भएको विश्वमै दुर्लभ हग्रायोको फोटोले तेस्रो स्थान पाएको छ । सहभागीले फोटोसँगै कम्तीमा ५० शब्दको विवरण समेत लेख्नु पर्ने नगरपालिकाले जनाएको छ ।

विज्ञ सहितको टोलीले पहिलो, दोस्रो र तेस्रोको नतिजा सार्वजनिक गरेका थिए । नगरका इन्जिनियर सिर्जन गदालले नयाँ पर्यटकीय गन्तव्यलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।

नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य सूर्यवाला राईले स्थानीय पालिकाहरूले पर्यटनमैत्री नीति बनाएर पालिका पालिका बिचमा सहकार्य गर्नु पर्ने बताउनुभयो । उहाँले कन्याम सहितका पर्यटकीय चिया बगान भारतीय कम्पनीलाई लिजमा दिनु दुःखद भएको बताउँदै सरकारले आफ्नो स्वामित्वमा लिनुपर्ने बताउनुभयो ।

नगर प्रमुख राईले प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेपनि पर्यटकीय नगरीको नीति निर्माण गर्न बाँकी रहेको बताउनुभयो । उहाँले पर्यटन प्रवर्धन गर्न विकास निर्माण गरेर मात्र नहुने भएकाले स्थानीय रीतिरिवाज र रहनसहन बचाउन सक्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘अब संरचना निर्माण गरेर मात्र हुँदैन, संरचना निर्माण पछि ती ठाउँको आर्थिक सामाजिक रुपातरण हुनु पर्छ ।’ नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सूर्योदयले पूर्वी पहाडकै पर्यटनको नेतृत्व गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नु भयो-‘पर्यटन व्यवसायलाई पुर्न: विचार गरी दिगो व्यवसाय बनाउनु पर्छ ।’

कार्यक्रममा पत्रकार केदार शर्माले पर्यटकीय गन्तव्य धेरै भए पनि इलामले अतिथि सत्कारमा ध्यान दिन नसकेको बताउनुभयो । पत्रकार शर्माले भन्नुभयो ‘इलाम आएका पर्यटकलाई न्यानो आतिथ्यतामा जोड्न सक्नु पर्छ ।’

विश्व पर्यटन दिवसको अवसरमा नगरले कन्याम, अन्तु, फिक्का, लगायतका स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । नगरमा कन्याम, अन्तु, बुद्धपार्क, स्वामीपार्की, चित्रे गुम्बा, गुफापाताल लगायतका दर्जनौँ पर्यटकीय स्थल रहेका छन् ।

यसअघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरिसकेको छ । कन्याम अन्तुमा बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । स्वदेशी पर्यटकको रोजाइमा परेका कन्याम, अन्तुमा पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter