सुपथ मूल्य पसलमा चिनी र दुग्धजन्य पदार्थको अभाव

विष्णु पाण्डेय / काठमाडौं, असोज १५ गते । असोज १ गतेबाट सुरु भएको सुपथ मूल्य पसलमा चिनी तथा दुग्धजन्य पदार्थको अभाव देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गरेको सुपथ मूल्यका पसलमा चिनी र दुग्धजन्य पदार्थ नभेटिएको उपभोक्ताहरुको भनाइ छ ।

उपभोक्ताहरु सुपथ मूल्यमा चिनी र दुग्धजन्य दपार्थ पनि पाइने आशाले सुपथ मूल्य पसलमा पुगे पनि नपाइएपछि निरास हुँदै फर्किनुपरेको दुखेसो गर्नुभएको छ ।

विद्याराज पराजुली बाहिरी बजारमा चिनीको मूल्य बढी भएर रामशाहपथमा सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा पाइने आशाकासाथ पुग्नुभयो । तर चिनी नभेटेपछि निराश हुँदै अन्य खाद्य वस्तु किनेर फर्कनुपरेको सुनाउनुभयो । दुग्धजन्य पदार्थ पनि पाइने आशा थियो, त्यो पनि पाइएन उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘बाहिर बजारमा चिनीको मूल्य बढी भएर सुपथ मूल्यमा चिनी किन्न आएको थिएँ, यहाँ त चिनी नै रहेनछ । त्यही भएर अन्य खाद्य पदार्थ लिएर हिँडे । दैनिक प्रयोगमा आउने दुग्धजन्य पदार्थ पनि रहेनछ ।’

बाहिर बजारमा चिनीको मूल्य प्रतिकेजी १२० रुपियाँ पुगेकाले सस्तो हुन्छ कि भन्ने आशाले सुपथ मूल्य पसलमा आएको उहाँले बताउनुभयो । यस्तै, सुपथ मूल्य पसलमा दुग्धजन्य पदार्थ पनि नभएको पराजुलीले गु्नासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुपथ मूल्य पसलमा दैनिक प्रयोजनमा आउने दुग्धजन्य पदार्थको अभाव छ । पोहोर साल चिनीसँगै दुध पनि पाइन्थ्यो तर अहिले छैन ।’

शान्ता लामाको पनि गुनासो उस्तै छ । रामशाहपथको सुपथ पसलमा भेटिनुभएकी उहाँले सुनाउनुभयो, ‘अन्य वस्तुहरु सस्तो छ । तर चिनी नै पाइएन । दुध घिउ पनि रहेनछ ।’ दशैंमा चिनीको खपत बढी हुने भएकाले चिनी महँगो मूल्यमा किन्नुपर्ने बाध्यता भएको उहाँले सुनाउनुभयो ।

चिनीको व्यवस्थापन गर्दैआएको साल्ट ट्रेडिङ कर्पोरेसनले भने अर्थमन्त्रालयबाट प्रस्ताव स्वीकृति नभएकाले चिनी खरिद गर्न नसकिएको जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार गत बर्षपछि अघिल्लो वर्षमा नै खरिद गरेको स्टक चिनीले दशैंको बेलामा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो ।

उहाँले भन्नुभयो, “दुई वर्षअघि खरिद गरेको चिनीले नै गत वर्षको दशैंमा सुपथ मूल्य पसल सञ्चालन गरियो । दुई महिनाअघि नै चिनीको स्टक सकिएकाले यसपाली सुपथ मूल्य पसलमा उपलब्ध छैन ।” दुग्ध विकास संस्थानसँग प्रयाप्त मात्रामा दुग्धजन्य पदार्थ नभएका कारण सुपथ मूल्य पसलमा अभाव भएको उहाँले बताउनुभयो ।

खाद्य व्यापार तथा कम्पनी लिमिटेडले उत्यकामा थापाथली, रामशाहपथ, नख्खु र भक्तपुरबाट सुपथ पसल सञ्चालन गरिरहेको छ । रामशाहपथ सुपथ मूल्य पसलका इन्चार्ज अर्पणा कँडेल सुपथ मूल्य पसलमा असोज १ गतेदेखि नै ग्राहकको बाक्लो उपस्थिति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिरी बजारमा यहाँ उपलब्ध भएका खाद्य वस्तुको मूल्य बढी छ । यहाँ केही रकम सस्तो हुनेभएकाले असोज १ गतेदेखि नै ग्राहकको भिड छ ।’ दाल, चामल, चिउरा तथा तेलमा प्रतिकेजी, प्रतिसिलिण्डर सात रुपियाँ छुट रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter