मनोनयन दर्ता : शीर्ष नेताहरू कसैले वारेसनामा पठाए, कोही आफैँ पुगे

काठमाडौं, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ताको समय सकिएको छ । आइतबार बिहान विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई चुनावी मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयन पत्र दर्ता गर्न सकिने व्यवस्था गरेको थियो ।

चुनावी मनोनयन दर्ताका लागि विभिन्न दलका शीर्ष नेताहरु कोही आफैँ सहभागी भएका छन् भने कसैले वारेस पठाएर मनोनयन दर्ता गराएका छन् । आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउनुभएको छ । त्यस्तै काँग्रेस नेत्रीसमेत रहनुभएकी राणाले आइतबार दिउँसो २:२३ बजे देउवाको नाम मनोनयन दर्ता गराउनुभएको हो।

सभापति देउवाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको यो सातौं पटक हो । काँग्रेस सभापति देउवा वि.सं. २०४८ साल यता डडेलधुराबाट सांसद बन्दै आउनुभएको छ । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आफैँ उपस्थित भएर उम्मेदवारी मनोनयन गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मनोनयन दर्ताका क्रममा यसअघि गोरखा २ बाट चुनाव जित्दै आउनुभएका बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेर आफैँले मनोनयन दर्ता गराउनुभएको हो ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर मनोनयन दर्ता गराउनुभएको छ भने पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा पुगेर मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाँणलगायत अन्य नेताले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मनोनयन दर्ता गराउनुभयो ।

मनोनयन दर्ताको क्रम साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि तोकिएको छ । प्रत्यक्षतर्फ देशभरका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको छ ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशनको समय असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म र उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म तोकेको छ । त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म छ ।

उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म तोकिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter