वर्षाबाट भएको क्षतिबारे प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, असोज २६ गते। गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य सङ्कलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा पछिल्लो समय आएको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिबारे अध्ययन गरी तत्काल रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनका अनुसार गृहमन्त्री खाणले बिहीबार नै घटनास्थलको निरीक्षण गरी प्रतिवेदन प्रस्तुत गर्न र आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिए । प्रवक्ता पोखरेलले अपुग ठाउँमा राहत लैजान पनि निर्देशन दिनुभएको बताए । उनले भने, ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा, बाँके, बर्दिया र दाङमा बाढी पहिरोका कारण भएको क्षतिबारे छलफल भयो । बाढी, पहिरोबाट क्षति पुगेको स्थानमा राहत उपलब्ध गराउन विपद् व्यवस्थापनले के गर्नुपर्छ भन्ने विषयमा छलफल भयो । केही जिल्लामा ठुलो क्षति भएको छ । त्यसलाई सम्बोधन गर्न सम्भवतः भोलि नै हाम्रो टिम त्यता जानेछ । त्यो टिमले जे देख्छ त्यो विषयको रिपोर्ट पेस गर्नेछ ।’

प्रवक्ता पोखरेलले आसन्न निर्वाचनमा पनि आउन सक्ने विपद्को सम्भाव्यता अध्ययन गर्न र त्यसको लागि उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगसँग समन्वय गर्ने बारेमा छलफल भएको बताए । उनले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउने बारेमा सबै सुरक्षा निकायसँग छलफल गरेको बताए । उनले भने, ‘आसन्न निर्वाचन अब ३९ दिन मात्रै बाँकी छ, त्यसलाई कसरी निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउने ? भन्ने सन्दर्भमा सबै सुरक्षा निकायबीच विभिन्न कुराहरू आए । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा आएको छ । सबै सुरक्षा निकाय आफ्नो नियमअनुसार परिचालित हुनेछ । उपलब्ध श्रोत, साधन केही कमी भए त्यसको व्यवस्थापन गर्ने, अर्थ मन्त्रालय, निर्वाचन आयोगसँग समन्वय गरी आवश्यक सामग्री परिपूर्ति गरी सुरक्षालाई चुस्त र दुरुस्त बनाउने बारेमा छलफल भयो । निर्वाचनमा आचारसंहिताको पूर्णरुपमा पालना गर्न सबै सुरक्षा निकायलाई मन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

प्रवक्ता पोखरेलले निर्वाचनका लागि हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाएको र त्यसै अन्तर्गत सुरक्षा योजना तयार गर्न निर्देशन भएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter