आचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्ने

काठमाडौं, असोज २६ गते। स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
स्थानीय तहमा आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख) लाई निर्देशन दिने भएको छ।
आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यससँग सम्बन्धित सम्पूर्ण विवरण तत्काल आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने जानकारी दिनुभयो।
निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइने आयोगले जनाएको छ।