नारायणगढ–बुटवल सडक खण्डको ठेक्का सम्झौता तोडिँदै

विष्णु पाण्डेय / काठमाडौं, कात्तिक २ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको ठेक्का कात्तिक ५ गते तोडिँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार यो सडक खण्डमा कामको गति ज्यादै कम भएको र पटक पटक आग्रह गर्दा पनि काममा कुनै प्रगति नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँका अनुसार यो ठेक्का तोडेपछि नयाँ ठेक्का आह्वान गर्न कम्तीमा एक वर्ष लाग्ने उहाँको भनाइ छ । थापाले भन्नुभयो, ‘यो आयोजनाको ठेक्का शनिबारसम्म तोडिने छ । ठेक्का तोडिएपछि नयाँ ठेक्का लाग्नका लागि कम्तीमा एक वर्ष लाग्छ ।’

यो सडकखण्ड भएर धेरै यात्रुले यात्रा गर्ने भएकाले खाल्डाखुल्डी पुर्न पटक पटक आग्रह गर्दा पनि कम्पनीले बेवास्ता गर्दैआएको छ । महानिर्देशक थापाले भन्नुभयो, ‘यस सडक खण्ड भएर धेरै यात्रुले यात्रा गर्ने भएकाले निर्माण कम्पनीलाई बेला–बेला सडकमा देखिएका खाल्डाखुल्डी पुर्न आग्रह गरियो, तर भएन । मर्मतलाई भनेर मासिक छुट्टै रकम निकासा हुन्थ्यो । तर काम नै भएन ।’

एडीबी र अर्थमन्त्रालयबीच वार्ता हुने

ठेक्का तोडिने भएपछि सडक विभागले यसै साता एसियाली विकास बैङ्क (एडिबी) र अर्थ मन्त्रालयसँग वार्ता गर्ने भएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार यस आयोजनाको नयाँ ठेक्कामा लागत बढी पर्ने भएकाले एडिबी र अर्थ मन्त्रालयसँग वार्ता गर्नुपरेको हो ।

एसियाली विकास बैङ्कको १८ अर्ब रुपियाँ लागतमा विस्तार हुन लागेको यस आयोजना फेरि नयाँ ठेक्का लगाउँदा ३० अर्ब हाराहारीमा पुग्ने उहाँको भनाइ छ । थापाले भन्नुभयो, ‘नयाँ ठेक्का प्रक्रियामा जाँदा ३० अर्बको हाराहारीमा लागत लाग्न सक्छ । स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने विषय यही साता एडिबी र अर्थ मन्त्रालयसँग वार्ता गर्छौ ।’

अब ठेक्का तोडिएपछि यसको वस्तुस्थिति बुझ्नु पर्ने र केही भागहरू मर्मत गर्नुपर्ने हुँदा समय पनि लाग्ने उहाँको भनाइ छ । नयाँ ठेक्का प्रक्रियामा ग्लोबल टेण्डरअनुसार खोल्नुपर्ने भएकाले यस आयोजनाको काम सुरु हुन एक वर्ष लाग्ने देखिएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter