फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

महोत्तरी, कात्तिक ३ गते । दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् ।

दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत बनेको हो । घरको सौन्दर्य र दैनिक पूजाअर्चनाको उद्देश्यले लगाइएको फूलबाट घरमै आएका व्यापारीले राम्रो रकम दिन थालेपछि यहाँका सर्वसाधारण गृहिणीका थैली अहिले पैसाले खँदिला बनेका छन् ।

“हेर्नोस् न, त्यही मठवरिपरि लगाइएको फूल न हो”, भङ्गाहा नगरपालिका–४ की गृहिणी गोमादेवी फुँयालले भन्नुभयो, “हिजो घरमै फूल खोज्न आएका व्यापारीले रु. दुई हजारमा दिनोस् भन्दै बैनास्वरुप (पेश्की, सामान किन्दा गरिने बोलकवोल) रु. एक हजार दिएर गए ।” तुलसीको मठवरिपरि एकाध जग्गाकै सयपत्री फूलले आफ्नो घरको आवश्यकता टारेर दुई हजार दिने भएपछि फुँयाल अब भने तिहारलक्षित सयपत्री फूलखेती नै गर्ने टुङ्गोमा पुग्नुभएको छ ।

आफ्नै घरआँगनको फूलले अतिरिक्त आम्दानी दिने भएपछि फुँयालका अन्य छिमेकी गृहिणी महिला पनि अब व्यावसायिकरूपमै फूलखेती गर्ने टुङ्गोमा पुगेका छन् । “मखमली र सयपत्री फूल खोज्न आउने व्यापारीले मैले भनेकै मूल्यमा फूल लाने टुङ्गो गरेका छन्”, आफ्नो आँगन छेउका ५० बोटजति सयपत्री फूलका बोट देखाउँदै सो बस्तीकै अर्की गृहिणी समिता महतोले भन्नुभयो, “अबचाहिँ बिक्री नै गर्ने गरी फूलखेती गरिन्छ ।” यसपालि तिहार सुरु हुनपूर्व नै आफ्नो घरआँगनमा फुलेको फूलले नसोचेको आम्दानी दिएपछि जिल्लाको उत्तरवर्ती क्षेत्रका गृहिणी महिलाको अब व्यावसायिकरूपमै फूलखेती गर्ने सोच बनेको हो ।

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभा र चाडपर्वमा आफ्नै आवश्यकताका लागि लगाइएको घरआँगनको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाको भनाइ छ । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटा जति बोटका सयपत्री फूल लाँदा तीन हजारभन्दा बढी आम्दानी हुने भएको बर्दिवास–२ बारनचौडीकी गायत्री आचार्य बताउनुहुन्छ ।

अहिले तिहार नजिकिएसँगै फूल खोज्ने ग्राहक र व्यापारीको जिल्लाका गाउँ, नगर बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा फूल खोज्नेहरूले मोलमोलाइ नगरीकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो वरपरका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिवास–६ कृष्णपुरकी दीपा राजभण्डारीको भनाइ छ ।

जिल्लामा फूलको व्यावसायिक खेती गरिएको खासै नदेखिए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी यसको व्यावसायिक खेती सुरु गरिए थप एउटा आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. रामचन्द्र यादव बताउनुहुन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका छन् । पछिल्ला पाँच–छ वर्षदेखि बलवा नगरपालिकाको बनौटा, धमौरा र पडौल बस्तीमा भने किसानले व्यावसायिकरूपमै फूलखेती सुरु गरेका छन् । यी बस्तीका फूलखेती गर्ने किसानले पनि जग्गाको अभाव नभए पनि दुई–तीन कठ्ठाभन्दा फूलखेतीको क्षेत्रफल बढाउन नसकेका बलवा नगरका प्रमुख रामविजय महतो बताउनुहुन्छ । “फूलखेतीबाट आम्दानी राम्रो भएको किसान बताउँछन्”, नगरप्रमुख महतोले भन्नुभयो, “तर खेती गर्ने किसान र खेतीको क्षेत्रफल भने जहीँको त्यहीँ नै छ ।” नगरपालिका कार्यालय फूलखेती गर्ने किसानलाई बीउ र अन्य प्राविधिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै प्रमुख महतोले आउने वर्ष गरिने फूलखेतीबारे समय (सिजनअघि नै)मै कार्यालयमा सम्पर्क गर्न अपिल गर्नुभयो ।

बलवा नगरपालिकाका यी बस्तीमा व्यावसायिक फूलखेती गर्ने किसानका घरमै टाढा–टाढाबाट व्यापारी पुग्ने गरेका छन् । “हामीले फूल बेच्न अहिलेसम्म भौँतारिनुपरेको छैन”, पडौल बस्तीका किसान शुभनारायण यादव भन्नुहुन्छ, “हाम्रो बारीको फूल व्यापारी यहीँ आएर लाने गरेका छन् ।” यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले यहाँको उत्पादन रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् । यी बस्तीमा उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न सहरमा पुर्याइने गरिएको वर्षौँदेखि फूल व्यापार गर्दै आएका जनकपुरका व्यापारी सकलदेव मण्डलले बताउनुभयो ।

बलवाका यी बस्तीको देखासिकीबाट छिमेकको पिपरा, भङ्गाहा, लोहारपट्टी र महोत्तरीसहितका स्थानीय तहका बस्तीमा केही किसानले व्यावसायिक फूलखेती थालेका छन् । पछिल्लोपटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरिने जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णको भनाइ छ ।

अहिले फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक छ । फूलखेती गर्न चाहनेलाई प्राविधिक परामर्श र उन्नत बीउ छनोटमा सहयोग गरिने कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ । जिल्लामा अहिले करिब १०–१५ बिघा क्षेत्रफलमा मात्र व्यावसायिक फूलखेती हुँदै आएको कार्यालय प्रमुख डा. यादवको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter