खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ३ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार साँझ पोखरा रङ्गशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ। विश्वमा खेलकुदले राष्ट्रको सान, मान र इज्जत राख्ने भन्दै उहाँले खेलाडीको बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्दै आएको उल्लेख गर्नुभयो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्याका आधारमा ऐतिहासिक प्रतियोगिता भएको उहाँको विश्वास छ। उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका खेलकुद संरचनाको उचित संरक्षण हुनुपर्नेमा समेत जोड दिनुभएको छ।

उहाँले यत्ति ठूलो प्रतियोगिता सफलताका साथ सम्पन्न भएको बताउनुभयो । प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिनुहुँदै प्रधानमन्त्री देउवाले खेलाडीको उन्नति र प्रगतिको कामना गर्नुभयो । उहाँले खेलकुद प्रतियोगितामा सहभागी केही खेलाडीको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले नियमित प्रतियोगिता हुन नसक्दा खेलाडी पलायनको समस्या देखिएको तर यस्ता प्रतियोगिताले खेलाडीले अवसर पाएको उल्लेख गर्नुभयो । खेलकुद अनुशासित र स्वास्थ्य जीवनको अभिन्न अङ्ग भएको उहाँको भनाइ छ ।

नवौं खेलकुदमा आर्मी च्याम्पियन, प्रदेशमा गण्डकी अगाडि

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक रनिङ शिल्ड प्रदान गरेको हो । पदक तालिकाका शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको आर्मीले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य सहित कूल तीन सय ७१ पदक जितेको हो । आर्मीले राष्ट्रिय खेलकुदमा ह्याट्रिक समेत गरेको छ । आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो।

३६ खेलमा कूल तीन सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ६५ स्वर्ण ७२ रजत र ८२ कांस्य सहित दुई सय १९ पदक सहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कांस्य पदक सहित एक सय ९५ पदक सहित नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरू मध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कांस्य सहित एक सय २० पदक सहित समग्रमा चौथो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कांस्य पदकसहित एक सय ४५ पदक सहित पाँचौँ स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौँ भएको छ । १० स्वर्ण, १० रजत ४३ कांस्य पदकसहित सुदूरपश्चिम प्रदेश सातौँ, एनआरएनए १० स्वर्ण नौ, रजत सात कांस्य पदकसहित आठौँ, ६ स्वर्ण २२ रजत र ४० कांस्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।

यसैगरी मधेश प्रदेश दसौँ स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौँ स्थानमा रहेको छ । मदेश प्रदेशले पाँच स्वर्ण आठ रजत र २६ कांस्य पदक जितेको छ । कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य पदक जितेको छ ।

यसअघि सुरुमा चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा दुई दुई तथा स्क्वास र सफ्टेनिसमा एक एक स्वर्ण पदकको खेल स्थगित भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्राविधिक समितिले जनाएको छ ।

प्रतियोगितामा समावेश ३६ खेलहरू गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन भएको थियो । सुटिङ र पुरुष क्रिकेट खेल भने काठमाडौंमा खेलाइएको थियो । पुरुष क्रिकेट एक महिना अघि नै सम्पन्न भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter