मङ्सिरमै सरकार गठनको बाटो खुल्छ : प्रमुख आयुक्त थपलिया

हरिप्रसाद कोइराला / इटहरी (सुनसरी), कात्तिक ४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २२ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गरी साेही महिनाभित्र सरकार गठनको बाटो खोलिदिने बताउनु भएको छ ।

निर्वाचन आयुक्त थपलियाले शुक्रबार सुनसरीको इटहरीमा गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशसम्बन्धी अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

नेपालको सबै खाले राजनीतिक परिवर्तनको साक्षी गोरखापत्र इतिहासको सङ्ग्रहालय भएको बताउँदै प्रमुख आयुक्त थपलियाले सरकारी सञ्चार माध्यमको पगरी लागे पनि गोरखापत्रले पत्रकारिताको धर्म पालन गर्दै स्वायत्त र स्वतन्‍त्ररुपमा भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

गोरखापत्र सरकारको आधिकारिक सूचनाको माध्यम हो, उहाँले सरकारको आधिकारिक समाचारको स्रोत हो भन्दैमा प्रतिस्पर्धात्मक र सूचना प्रवाहमा अब्बल नभए गोरखापत्र कमजोर हुने बताउनुभयो ।

सनसनी फैलाउने समाचारभन्दा तथ्यपूर्ण समाचारमा जोड दिन आग्रह गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘यो पटकको निर्वाचनमा मौन अवधि हुँदैन ।’’

निर्वाचनसँग सम्बन्धित समाचार दिँदा कुनै पनि दल र उम्मेदवारलाई ठूलो र सानो, ‘हेवीवेट र लाइट’ भनेर नलेख्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘उम्मेदवारका बीचमा विभेद नगर्नुहोस् । सबै उम्मेदवारले निर्वाचन आयोगको मापदण्डअनुसार उम्मेदवारी दर्ता गरेर जनप्रतिनिधि बन्‍न मतदाताको पुगिरहेका हुन्छन्, अनि किन विभेद गर्नुहुन्छ ?’’

स्वच्छ निर्वाचन भए मात्र शासन राम्रो हुन्छ भन्दै उहाँले थप्नुभयो- सञ्चार माध्यम स्वतन्त्र र निष्पक्ष भए मात्र निर्वाचन भयरहित र स्वतन्‍त्रतापूर्वक सम्पन्‍न हुनसक्छ ।

प्रमुख आयुक्त थपलियाले निष्पक्ष निर्वाचनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । सनसनी फैलाउने समाचारभन्दा तथ्यपूर्ण समाचारमा जोड दिन आग्रह गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘यो पटकको निर्वाचनमा मौन अवधि हुँदैन ।’’

“विगतमा मौन अवधि तोकिएको समयमा भएका गतिविधिलाई आयोगले सूक्ष्म ढङ्गले अध्ययन गरेको छ । निर्वाचनलाई सो अवधिमा कुन दल वा उमेदवारले प्रभाव पार्न खोज्छ । त्यो दल वा उम्मेदवारको उम्मेदवारीसमेत आयोगले रद्द गर्नेछ”, उहाँले भन्नुभयो ।

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न नउठाउन आग्रह गर्दै उहाँले आचारसंहिता उल्लङ्घन भए तत्काल कार्वाही हुने चेतावनी दिनुभयो । सामाजिक सञ्जालको प्रयोग सहि तरिकाले प्रयोग गर्न अनुरोध गर्दै थपलियाले भ्रम सिर्जना गर्ने खालका विषयवस्तुलाई प्राथमिकता दिए दलीय व्यवस्था नै खत्तम हुने खतरा रहेको औंल्याउनु भयो ।

अब निर्वाचन पद, पैसा र शक्तिले जित्न नसकिने उहाँको भनाइ छ । सुरक्षाका विषयमा उठेको जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, सुनसरीमा जाली मानिस बस्छन् भने मतगणना स्थलमा तारजाली राख्नोस् सच्चा मानिस छन् भने पर्दैन ।

स्वतन्त्रपूर्वक निर्वाचन गराउने जिम्मा गोरखापत्रको पनि हो : अध्यक्ष सुवेदी

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले देशमा आम निर्वाचन सम्पन्‍न गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्रै नभएको बताउँदै राज्यको जिम्मेवार मिडिया भएकाले स्वतन्‍त्रपूर्वक निर्वाचन गराउने जिम्मा गोरखापत्रको पनि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।

गोरखापत्र पत्रिका मात्रै नभएर नेपाली पत्रकारिताको पाठशाला भएको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘सिंगो सभ्यता, संस्कृति र भाषाको धरोहर गोरखापत्र नेपालका सबै राजनीतिक परिवर्तनको साक्षी छ । गोरखापत्र कुनै उम्मेदवारलाई जिताउने–हराउने अभियानमा छैन ।’’ उहाँले राज्यको मिडिया भएकाले जिम्मेवार भएर निष्पक्ष निर्वाचन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अहिले पत्रकारितामा सूचना पाउनभन्दा सही सूचना पाउन चुनौती रहेको बताउनु भयो। उहाँले १२२ वर्षको इतिहास बोकेको राष्ट्रको पत्रिका गोरखापत्रले विश्वसनीयताकै कारण आजसम्म आफ्नो इतिहास अक्षुण्ण राख्न सकेको उल्लेख गर्नुभयो।

गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराईले २०६४ साल असोजमा चार भाषाबाट सुरु गरेको नयाँ नेपालको भाषा भाषी पृष्ठमा हाल ३८ भाषाबाट प्रकाशन भइरहेको बताउनु भयो। उहाँले भाषा भाषी पृष्ठमा विज्ञापन छापेर गोरखापत्र संस्थान आर्थिक लाभ गर्न सक्ने भए पनि राष्ट्रको पत्रिकाको दायित्त्व पैसा कमाउने मात्र नभएको उल्लेख गर्नुभयो। उहाँले बहुभाषी पृष्ठले नेपालका भाषा अन्तरसम्बन्ध कायम गरेको बताउनु भयो।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी, सञ्चालक समिति सदस्य चेतन धमला र सचिन पोख्रेलले निर्वाचनलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको चर्चा गर्नुभयो ।

यसअघि आजै भएको कार्यक्रममा गोरखापत्रका प्रदेश १ र मधेस प्रदेशका स्थानीय समाचारदाता र नयाँ नेपाल पृष्ठका संयोजकलाई समाचार लेखन तथा बहुभाषा सन्देशसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

वरिष्ठ भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्यौपानेले सहजीकरण गर्दै बेलायतबाट नेपाल आएका फिड मार्सलले तिम्रो देशमा पत्रिका छैन भनेर सोधेपछि तत्कालीन राणा प्रधानमन्त्रीले लिथोबाट छापेर समाचार पढ्न दिएपछि नेपाली पत्रकारिता औपचारिक रुपमा सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो– उस बेलाका शासकले हाम्रो प्रशंसा नछाप्नू भने पनि अहिले गोरखापत्र सरकारी मुखपत्र भएको छ । अहिले सरकारी प्रशंसा छापे पनि गोरखापत्र विगतदेखि वर्तमानसम्म अखबार भनेकै गोरखापत्र भन्ने मान्यता स्थापित भएको छ । प्रा.डा. न्यौपानेले लोप भएका भाषा शब्द भण्डार प्रकाशन गर्न गोरखापत्र व्यवस्थापनसँग आग्रह गर्दै मृत शब्दलाई ब्युताउँने जिम्मा गोरखापत्रले लिनुपर्ने बताउनु भयो ।

गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष सुवेदी, महाप्रबन्धक ऐरी, नयाँ नेपाल पृष्ठ संयोजक कुमार विवेकानन्द मिश्रलगायतको सहभागिता थियो ।

आजै तेस्रो चरणमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलिया र पत्रकार जगत नेपालले निर्वाचनको समयमा पत्रकारले निर्वाह गर्नुपर्ने आचार संहिताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter