व्यापारी भन्छन् ‘नरिवल, सुपारी र छोकडा छैन’

काठमाडौं, कात्तिक ६ गते । तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा एक अर्ब तीन लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५२ लाख केजी भाइमसला आयात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही समयमा दुई अर्ब २७ करोड दुई लाख रुपियाँ बराबरको भाइमसला आयात भएको थियो । सो मूल्यमा एक करोड तीन लाख केजी बराबरको भाइमसला आयात भएको थियो ।

१९ करोडको नरिवल आयात

चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा १९ करोड ४४ लाख रुपियाँको नरिवल आयात भएको छ । उक्त मूल्यमा २८ लाख केजी नरिवल आयात भएको हो । गत आर्थिक वर्षमा सोही समयमा १६ करोड ६० लाख बराबरको नरिवल आयात भएको थियो ।

छोकडा आयात घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भाइमसलाको रुपमा प्रयोग हुने छोकडाको आयात घटेको छ । साउन र भदौ महिनामा जम्मा पाँच हजारको मात्र छोकडा आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष सोही समयमा छोकडा तीन करोड ७० लाख रुपियाँ बराबरको आयात भएको थियो ।

४१ करोडको सुपारी आयात

भाइमसलाको रुपमा प्रयोग हुने सुपारीको आयात चालु आर्थिक वर्षमा घटेको छ । चालु आवको पहिलो दुई महिनामा ४१ करोड रुपियाँको सुपारी आयात भएको छ । गत आवको सोही समयमा एक अर्ब ४२ करोड ८१ लाखको सुपारी आयात भएको थियो ।

काजु आयातमा कमी

चालु आर्थिक वर्षमा काजुको आयात केही मात्रामा घटेको छ । चालु आर्थिक वर्षमा २० करोड ९६ लाख रुपियाँ बराबरको काजु आयात भएको छ । तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने काजुको आयात गत वर्षको सोही समयमा २० करोड ९६ लाख बराबरको काजु आयात भएको थियो ।

बदाम आयात घट्यो

चालु आर्थिक वर्षमा बदामको आयात घटेको छ । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा नौ करोड ९५ लाख बराबरको बदाम आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा २२ करोड ७१ लाख रुपियाँ बराबरको बदाम आयात भएको थियो ।

पाँच करोडको ओखर आयात

चालु आर्थिक बर्षको पहिलो दुई महिनामा पाँच करोड तीन लाख बराबरको ओखर आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा १४ करोड ३५ लाख रुपियाँ बराबरको ओखर आयात भएको थियो ।

किसमिसको आयात घट्यो

भाइमसलाको रुपमा प्रयोग हुने किसमिसको आयात आधाले घटेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन करोड ७० लाख रुपियाँ बराबरको किसमिस आयात भएको छ । गत आर्थिक वर्षको सोही समयमा ६ करोड ८० लाख रुपियाँ बराबरको किसमिस आयात भएको थियो ।

तीन लाखको पिस्ता आयात

भाइमसलाको रुपमा प्रयोग हुने पिस्ता तीन लाख ३० हजारको आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सो परिणामको पिस्ता आयात भएको हो । चालु आर्थिक वर्षको सोही समयमा तीन लाख ३४ हजार बराबरको पिस्ता आयत भएको थियो ।

आयातमा कडाइ र माग कम भयो

भन्सार विभागका अनुसार गतवर्षको तुलनामा यस वर्ष भाइमसलाको आयात घट्नुमा माग कम र आयातमा कडाइ हो ।

विभागका निर्देशक रामप्रसाद मैनालीका अनुसार गतवर्ष दुई वर्षदेखि कायम रहेको महामारी मत्थर भएर कम भएर उल्लासपूर्ण समय भएका मागका कारण धेरै थियो । गतसाल सुपारी, छोकडाजन्य वस्तुमा कडाइ पनि थिएन ।

तर यसवर्ष आयातमा भएको कडाइका कारण सुपारीजन्य वस्तुको आयात नै न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतवर्ष कोरोना माहामारी कम भएको पहिलो वर्ष भएका कारण माग बढी थियो । जसकारण आयात बढी भएको देखियो । तर, अहिले आयातमा कडाइ र माग नै कम भएको कारण आयातमा कमी भएको हो ।’

व्यापार कम छ

काठमाडौँ मखनगल्लीमा १० वर्ष अघिदेखि भाइमसलाको व्यापार गरिरहेका विकास गुप्ता यस वर्ष भाइमसलाको व्यापार कम भएको बताउनुभयो । भाइमसलाका रुपमा प्रयोग हुने केही बस्तुको आयातमा सरकारले कडाइ गर्दा सामान अभाव भएकाले व्यापार कम भएको हुनसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भाइमसलाको रुपमा प्रयोग हुने केही वस्तुहरुको आयातमा सरकारले कडाइ गरेको कारण व्यापार कम भएको हुनसक्छ । मानिस सबै प्रकारका भाइमसला खोज्छन् । एउटा छैन भनेपछि केही नकिनी फर्किन्छन् । उहाँका अनुसार अहिले नरिवल, सुपारी र छोकडा बजारमा अभाव छ ।

यस्तै, अर्का व्यापारी विनय रौनियारको भनाइ पनि उही छ । गतवर्ष निकै उत्साहपूर्ण व्यापार भएको बताउनुभएका रौनियार यसपाली व्यापार कम हुँदा अलि मलिन देखिनुभयो । रौनियारले भन्नुभयो, ‘गतवर्ष व्यापार धेरै राम्रो थियो, दैनिक ५० हजारसम्मको भाइमसला बिक्री हुन्थ्यो । तर यसपाली मुस्किलले १५ देखि २० हजारको व्यापार हुन्छ ।

छोकडा, नरिवल र सुपारी अभाव

भाइमसलाका रुपमा प्रयोग हुने छोकडा, नरिवल र सुपारी अभाव रहेको उपभोक्ताले बताउनुभएको छ । भाइमसला किन्न काठमाडौं मख्खन गल्लीमा आइपुग्नुभएकी सुमित्रा आचार्यले नरिवल, छोकडा र सुपारी नपाएको सुनाउनुभयो ।

यस्तै, गत बर्षभन्दा यसवर्ष भाइमसलाको मूल्य पनि केही बढी भएको उहाँको भनाइ छ । ‘भाइमसलाको रुपमा प्रयोग हुने नरिवल, छोकडा र सुपारीको बजारमा अभाव रहेछ । जहाँ गयो छैन भन्छन् ‘उहाँले भन्नुभयो, ‘गत वर्षभन्दा यसवर्ष अन्य वस्तुको मुल्य पनि केही बढी छ ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter