प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन।”

उहाँले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाउनुभयो। “प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ। पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवर्द्धनका निम्ति सबै लाग्नुपर्छ”, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभयो। गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उहाँले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो।

प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्त्व रहेको बताउनुभयो। उहाँले जनताको सुख दुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको दोहोर्‍याउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ।”

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार रोकेर सुशासन अभिवृद्धि गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दाबी गर्नुभयो।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रतिगमनकारी शक्तिले गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेकाप्रति सजग रहँदै सत्यतथ्य सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही र प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको सुदृढीकरण र परिवर्तनलाई संस्थागत गर्न कांग्रेस नेतृत्वको सरकार बन्न जरुरी रहेको बताउनुभयो।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधानको रक्षाका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आगामी निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले मिडियासम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले व्यावसायिक पत्रकारिताको विकाससँगै लोकतन्त्रलाई बलियो बनाउन सम्पूर्ण प्रजातन्त्रवादी पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter