प्रधानमन्त्री कप क्रिकेट : एपीएफ सेमिफाइनलमा

काठमाडौं, कात्तिक १९ गते । कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमाएपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको दुई सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनायो । कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सक्नु भएन । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाउनुभयो । एपीएफका मौसम ढकालले ४, कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेल्नुभयो । १ सय ३६ बलको सामना गर्नुभएका आसिफले १५ चौका र एक छक्का प्रहार गर्नुभयो ।

यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाउनुभयो । लोकेश बम र दीपक बोहराले १०/१० रन मात्र बनाउनुभयो । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३÷३, दिवन पुनले २ विकेट लिनुभयो । जितसँगै एपीएफले चार खेलमा ७ अङ्क जोडेर अन्तिम चारमा स्थान पक्का गरेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दीप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेल्नुभएको छ ।

यस्तै अभिषेक गौतम दुई रनमा अविजित रहनुभयो । लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट लिनुभयो । यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्की र हरिशंकर शाहले अर्धशतकीय पारी खेल्नुभयो । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको व्यक्तिगत स्कोर बनाउनुभयो ।

यस्तै अनिल साहले पनि अर्धशतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नुबाहेक अन्यले राम्रो स्कोर बटुल्न सक्नुभएन । मधेसको सबै विकेट निकाल्ने क्रममा कृष्ण कार्कीले सर्वाधिक तीन, अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक/एक विकेट रह्यो ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter