अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी

काठमाडौं, कात्तिक २१ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ ।

सोमबार कलाकारहरुसँग आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अँध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरुलाई उम्मेदवारहरुको सही सूचना दिन अग्रसर हुन सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कलाकारहरुलाई निर्वाचनमा सहयोग गरिदिन र निर्वाचनप्रति जिम्मेवार भइदिन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘अहिले कतै कतै भनिने गरेको छ, निर्वाचन आयोग अलि कडा भएर हो कि, निर्वाचनको माहोल नै बनेन, तर आजदेखि हामी तपाईहरुको साथमा छौँ । साँच्चै नै अब निर्वाचनको एउटा माहोल बन्नेछ । आचारसंहिता भन्ने विषय कलाकारहरुका लागि कुनै नौलो विषय होइन, किनभने तपाईहरु कुनै पनि कुरा उल्लङ्घन गर्न नै चाहनुहुन्न ।’’

कलाकारहरु राष्ट्रका गहना भएको हुनाले उहाँहरुप्रति सर्वसाधारणको पनि विशेष लगाव हुने हुँदा कलाकारहरुको सानो सहयोगले पनि निर्वाचनको प्रचार प्रसारमा ठूलो सहयोग हुने उहाँको भनाइ छ । आफ्ना सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरुबाट निर्वाचनको प्रचारप्रसारमा आयोग तथा राष्ट्रलाई सहयोग गरिदिनहुन आयुक्त थपलियाले कलाकारहरुसँग अनुरोध पनि गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिनुभयो ।

कालाकारहरुलाई निर्वाचनसम्बन्धी अन्तरक्रियासहित मतादान शिक्षा, मतदान गर्ने तरिका र निर्वाचनका आचारसंहितासम्बन्धी प्रस्तुति आयुक्त थपलियाले दिनुभएको थियो । यसैगरी, कार्यक्रममा उहाँले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्यालगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्नुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्नेकुरा र घृणास्पद अभिव्यक्ति दिनेकुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । हामी विभिन्न जातजाति, क्षेत्र, सम्प्रदाय, उमेर समूहका छौं । निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुराहरुलाई राखेर, कसैलाई कुनै पनि किसिमले लाञ्छित गर्न पाइँदैन । गालीगलौज गर्न पाइँदैन । अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुङ्गा नहानिदिनुस् भनेको मात्रै हो ।’’

उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्नुहुँदै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरु राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरुको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको धारणा पनि व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता कडाई गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा वृद्धवृद्धा, रोगी, शारीरिक अशक्तता भएका व्यक्तिहरुको सहजताका लागि पनि उचित व्यवस्था मिलाएको बताउनुभयो ।

मतदाता शिक्षा प्रभावकारी होस : कलाकार

कलाकारहरुले निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् । कलाकारहरुले आयोगले चार किसिमका मतपत्र छापेको र त्यसमा आम नागरिकहरु झुक्किनसक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेता फैलाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा अशक्त, असहाय, व्यक्तिहरु र फरक क्षमता भएका व्यक्तिहरुलाई मत दिन जाँदा उचित व्यवस्थापन नगरेका दृश्यहरु देखिएको भन्दै निर्वाचन केन्द्रहरु अशक्ततामैत्री बनाउन आग्रह गर्नुभयो ।

कलाकार मनोज गजुरेलले कलाकारहरू अभियन्ता मात्रै नभई खबरदारीकर्ता पनि भएकाले खबरदारीकर्ताको रुपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गर्नुभयो । उहाँले मतपत्र हेरिसकेका मानिस पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकमा बुझाउनुपर्ने बताउनु भयो । कलाकार गजुरेलले निर्वाचनलाई पर्वको रुपमा मान्नुपर्ने र सकेसम्म नकारात्मक प्रचारप्रसार गर्नु नहुने बताउनु भयो ।

कलाकार दीपक आचार्यले निर्वाचन आयोगले कलाकारहरुसँग समन्वय गरेर अघि बढे मतदाता शिक्षासहित निर्वाचन प्रचारप्रसारका गतिविधिहरु जनतामाझ पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, कलाकार दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाव दिनुभयो । उहाँले मतदातालाई निर्वाचन मतदाता शिक्षामूलक सूचनाहरु प्रशारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले अब १३ दिनको अवधिमा मतदाता परिचयपत्र बोकेर जाऔँ भन्ने खालका मतदाता शिक्षासम्बन्धीका सूचनाहरु मोबाइलको रिङटोनमा बज्ने गरी प्रशारण गर्न आवश्यक छ ।’’

कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गर्नुभयो । उहाँले निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘जनतालाई सुसूचित गर्ने कुरामा जुनसुकै समय पनि म निःशुल्क दिन तयार छु । निर्वाचन प्रचार सामग्री निर्माण गर्दा निर्वाचन आयोगसँग कस्तो खालको बजेट विनियोजन हुन्छ, सामग्री कसरी निर्माण हुन्छ ? निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ ? यो जिज्ञासा छ ।’’

अर्का कलाकार राजा राजेन्द्र पोखरेलले निर्वाचन के हो भन्ने कुरा आम नागरिकसामु आयोगले बुझाउन नसकेको महसुस गरेको बताउनुभयो । उहाँले मत किनबेच हुनेकुरा धेरै सामाजिक सञ्जालमा आइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले मत किनबेच गर्नु नहुने र किनबेच भएको मतले राष्ट्रिय आकंक्षा पूरा नहुने र निर्वाचनको पवित्रतालाई पनि कमजोर गराउनुका साथै समग्रमा देश पनि कमजोर बन्ने बताउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter