लिमीमा चौरीको संख्या छ गुणाले बृद्धि
राजन रावत / हुम्ला, कात्तिक २६ गते । नाम्खा गाउँपालिका –६ हिमालपारीको गाउँ लिमीमा चौरी गाईको संख्या बृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौरी पाल्ने आकर्षण बढेकाले संख्यामा बृद्धि भएको हो ।
दुुई वर्ष अगाडिसम्म लिमीमा पचास वटा चौरी गाई थिए । यो पेशा बढी दुःख हुने भन्दै किसानले अन्य ब्यापार गर्न थालेपछि चौरी पालन लोप हुने अबस्थामा पुुगेको थियो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले दुुई वर्ष यता चौरीको संख्या ३९० पुगेको बताउनुुभयो । लिमीवासीले बिस्तारै चौरी पालन छा्ड्दै गएकाबेला चौरी स्रोत केन्द्र स्थापना भएपछि स्थानीयमा चौरी पाल्ने आकर्षण बढेको उहाँको भनाइ छ ।
हाल स्थानीयसँग डेढ सय चौरी रहेको र स्रोत केन्द्रमा २४० भन्दा बढी चौरी पुुगेको उहाँले बताउनुुभयो । उहाँका अनुसार लिमीमा दुुई वर्षको अन्तरमा छ गुणाले चौरीको सङ्ख्या बृद्धि भएको छ । लिमीका तीन गाउँ चौरी पालनका लागि बढी सम्भावना भएको गाउँ हो । बिशेषगरी कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा स्रोत केन्द्र स्थापना हुँदा स्थानीय पुनः चौरी पालनमा फर्कन थालेको उहाँको भनाइ छ ।
पहिले एउटै घरमा चालीसदेखि पचास वटा चौरी रहेको स्मरण गर्दै वडा अध्यक्ष तामाङले चरन समस्या, दुुख बढी, अन्य ब्यापारबाट फाईदा देखेपछि लिमीमा चौरी पालन घटेको भए पनि अहिले सङ्ख्या बढेको बताउनुभयो । चौरी पालनमा सकारात्मक आशा पलाएको उहाँले बताउनुुभयो । चौरी पालन बढ्न थालेपछि घ्यु, छुर्पी, चीज, नौनी उत्पादनमा समेत बृद्धि भएको उहाँको भनाइ छ ।