‘यूएईसँगको सिरिज नेपालका लागि स्तर सुधार्ने मौका’

गाेविन्द रेग्मी / काठमाडौं, कात्तिक २७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँग घरेलु मैदानमा हुने तीन खेलको एकदिवसीय सिरिज नेपालका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजअघि प्रशिक्षक र कप्तानसहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक मनोजले सोमबारदेखि हुने सिरिज नेपाललाई आफ्नो कमजोरी नियाल्ने र स्तर सुधारको राम्रो मौका भएको बताउनुभयो ।

‘‘नेपालले नामिबिया भ्रमण गर्नुअघि राम्रो मौका पाएको छ । भर्खर विश्वकप खेलेर फर्किएको यूएईसँग खेल्न पाउनु नेपाललाई लिग–२ मा खेल्न जानुअघि राम्रो अवसर हो । यसलाई हामीले सही सदुपयोग गर्नुपर्छ,’’ मनोजले भन्नुभयो । उहाँले नेपाली युवा खेलाडी र यूएईका अनुभवी खेलाडीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा समेत गर्नुभयो ।

नेपाली टोलीको प्रदर्शनमा बिस्तारै सुधार आइरहेको उहाँको मनाई थियो । नेपालले यस सिरिजपछि आइसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौँ स्थानमा छ ।

नेपालका कप्तान रोहित पौडेलले घरेलु वातावरण र दर्शकको साथमा राम्रो प्रदर्शन गर्ने सोच राखेको बताउनुभयो । ‘‘भर्खरमात्र पीएम कप खेलेका छौँ । सबैले मैदानमा राम्रो खेलिरहेका छौँ । नामिबिया जानुअघि यो हाम्रो लागि ठूलो मौका हो । आशा छ, युएईसँग हामी राम्रो खेल्ने छौँ,’’ पौडेलले भन्नुभयो ।

यसअघिका कप्तान सन्दीप लामिछानेलाई नाबालिका बलात्कार गरेको आराेपमा फौजदारी अभियोग लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही सिरिजबाट रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

यसैगरी युएईका प्रशिक्षक रोविन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके आफ्नो टोलीको प्रदर्शन सन्तोषजनक रहेको बताउनुभयो । टोलीमा युवा र अनुभवी खेलाडीको मिश्रित रहेकोले नेपालसँगको सिरिज नयाँ अनुभव हुने उहाँले बताउनुभयो ।

युएई कप्तान रिजवनले नेपालमा आएर खेल्न पाउनु सबै खेलाडीका लागि खुसीको क्षण हुने बताउनुभयो । ‘‘नेपालमा विगतमा पनि खेलेका छौँ । यहाँका समर्थकले क्रिकेटमा देखाउने माया उत्साहपूर्ण छ,’’ रिजवनले भन्नुभयो । नेपालसँग राम्रो खेलेर फर्कने उहाँको भनाई थियो ।

यस सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएको क्यानले जनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा युएई र नेपालबीच पहिलो खेल कात्तिक २८ गते, दोस्रो खेल ३० गते र तेस्रो खेल मङ्सिर २ गते हुनेछ ।

सिरिज खेल्न यूएई टोली शनिबार राति नेपाल आएको हो । क्यानले यस सिरिजमा ‘‘म्यान अफ दि सिरिज’’ विजेतालाई ५० हजार र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई जनही २० हजार रुपियाँ पुरस्कार दिने जनाएको छ । क्यानले सिरिज हेर्न आउने दर्शकका लागि दुई सय रुपियाँ शुल्क तय गरेको पनि जनाएको छ ।

सिरिजका लागि नेपाली टोली :

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।

यूएई टोली :

सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उपकप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिट्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रान्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्ताफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter