संघीय निर्वाचन : मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय
काठमाडौं, कात्तिक ३० गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो।
यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उहाँले जानकारी दिनुभयो। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहनुभएका भण्डारीले भिडियो सन्देशमार्फत् यो विषय जानकारी गराउनुभएको हो।
‘निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार, आवश्यकता अनुसार हवाइ गस्ती’
निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको बताएको छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार आयोगले आवश्यकता अनुसार हवाई गस्तीसहित निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जानकारी दिनुभएको हो । आयोगले सार्वजनिक गरेको भिडियोमार्फत् आयुक्त पौड्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको हो ।