निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय

काठमाडौं, मङ्सिर २ गते। सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ। शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। उहाँले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पार्नुभयो। उहाँले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताउनुभयो। त्यस प्रकारका गतिविधिलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उहाँको भनाइ छ।

‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्नेसँग एग्रेसिभ रुपमा हामी थिएनौँ। तर केही दिन यता केही हिंसात्मक विषय देखिने सम्भावना देखिएको छ। त्यसैले अहिले एक किसिमले जिरो टोलेरेन्समा हामी छौँ। त्यस्ता खालका गतिविधि र क्रियाकलाप गर्ने समूह, व्यक्ति, संगठनलाई कानुनी दायरामा ल्याउने गरिरहेका छौँ’, उहाँले भन्नुभयो।

गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराउनुभयो। निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्नेगरी काम गर्ने कर्मचारीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले कर्मचारीलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुनेगरी क्रियाकलाप नगर्न निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, ‘मतदानस्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी सम्पूर्णलाई स्पष्ट निर्देशन छ, हाम्रो दायित्त्व भनेको निष्पक्ष, भयरहित र शान्तिपूर्ण। निष्पक्षता भनेको सबैभन्दा पहिला हामीबाटै हुन्छ। त्यसमा म पूर्ण रुपमा विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु त्यसमा हामी प्रतिबद्ध छौँ।’’

आचारसंहिता, निर्वाचन कानुनको उल्लंघन गर्नेलाई तदनुरुप कारबाही हुने उहाँको भनाइ छ। । निजामती कर्मचारी र अन्य कर्मचारीको हकमा विभागीय कारबाही र संगठनको नियम अनुसार कारबाही हुने उहाँले प्रष्ट पार्नुभयो।

गृहसचिव सिंहले मतपेटिकालाई मत गणनास्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पार्नुभयो। सवारी साधनको अभाव रहेका विकट ठाउँमा भने मतदान अधिकृतले माग गरे अनुरुप सशस्त्र प्रहरीको सवारी साधन प्रयोग गर्न सकिने उहाँको भनाइ छ। सुरक्षा निकायको सवारी साधनमा सिल गरिएका मतपेटिका नबोकिने सिंहले प्रष्ट पार्नुभयो।

हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिनेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरेर तीन लाख सुरक्षाकर्मी परिचालन हुने उहाँले जानकारी दिनुभयो।

त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको छ। सो टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लंघनका विषयको अनुगमन गर्ने जनाइएको छ।

उहाँकाअनुसार नेपाली सेनाका हेलिकप्टर इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा तैनाथ गरिएको छ। नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटमा पुग्नेगरी नेपाली सेनालाई परिचालन गरिएको गृहसचिव सिंहले जानकारी दिनुभयो। त्यस्तै देशभरका ९०३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको उहाँले बताउनुभयो।

पत्रकार सम्मेलन गर्नुअघि गृह मन्त्रालयमा गृह सचिवसहित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter