नेपाललाई एकदिवसीय सिरिज उपाधि

काठमार्डौं, मङ्सिर २ गते । ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।

जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई तीन विकेटले हराउँदै सिरिज जित्ने सम्भावना कायम राखेको थियो । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

जितका लागि यूएईले दिएको एक सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन बनाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अविजित ८८ रन बनाउनुभयो । एक सय १९ बलको सामना गर्नुभएका शेखले १२ चौकाको सहयोगमा अर्धशतकीय पारी खेल्नुभएको हो । आशिफ ‘प्लेयर अफ दि म्याच’ हुनुभयो ।

ज्ञानेन्द्र मल्लले ६४ रन बनाउनुभयो । मल्लले ७३ बलमा सात चौका र तीन छक्काको सहयोगमा अर्धशतकीय रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १० रन बनाउनुभयो । ओपनर अर्जुन साउद नौ रनमा आउट हुनुभएको थियो । बलिङमा यूएईका हाजार्ट विलाल र आयान अफ्जल खानले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाउनुभयो । १७ वर्षीय अलराउन्डर आयान ‘प्लेयर अफ दि सिरिज’ बन्नुभयो । उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

यस्तै आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाउनुभयो । बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

नेपालले आईसीसी लिग डिभिजन-२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।

यूएईविरुद्ध नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हरिशङ्कर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter