६१ प्रतिशत मतदान : निर्वाचन आयोग; निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो : प्रधानमन्त्री देउवा

काठमाडौं, मङ्सिर ४ गते। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ। आइतबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख आयुक्त थपलियाले अहिलेसम्म प्राप्त विवरणलाई हेर्दा ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको हो।

आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘६१ प्रतिशत मतदान भएको देखिएको छ। यो सङ्ख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’

उहाँले १५ स्थानमा मतदान हुन नसकेकोसमेत जानकारी दिनुभएको छ। निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ।

प्रमुख आयुक्त थपलियाले मतपत्र मत गणनास्थलमा पुर्‍याएपछि काठमाडौं उपत्यकामा आजै र अन्य ठाउँमा प्रक्रिया पूरा गरेर तत्काल गणना सुरु गर्न निर्देशन दिएको बताउनुभएको छ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभएको छ। आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।

ट्वीटरमार्फत् आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।’’

त्यसैगरी प्रधानमन्त्री देउवाले निर्वाचन सफल पार्न खटिएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार र पर्यवेक्षकलाई समेत धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री देउवाले ट्वीटमा थप लेख्नुभएको छ, ‘‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकमा धन्यवाद तथा आभार व्यक्त गर्दछु।’’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter