आधा घट्यो घरजग्गा कारोबार; उपत्यकामा झन् घट्यो

काठमाडौँ, मङ्सिर ५ गते । वित्तीय क्षेत्रले ऋण लगानी गर्न नसक्नु तथा स्थानीय निकायले आवश्यक कानुनी प्रबन्ध गर्न नसक्दा मुलुकभरको घरजग्गा कारोबार शिथिलप्रायः भएको छ। भूमि व्यवस्थापन विभागको तथ्याङ्कअनुसार गत वर्षको कात्तिकमा भन्दा यस वर्ष घरजग्गाको लिखत पारितलगायतका कारोबार र त्यसबाट प्राप्त हुने राजस्वसमेत आधा घटेको छ।

विभागका अनुसार कात्तिकमा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ७६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ। जब कि अघिल्लो कात्तिकमा यस्तो रकम पाँच अर्ब ७० करोड रुपियाँ थियो। समीक्षा अवधिमा देशभर मालपोतको मुख्य कारोबार लिखत पारित नै खस्किएकाले राजस्वमै प्रत्यक्ष असर परेको हो। गत कात्तिकमा ५० हजार ८३ लिखत पारित भएकोमा यस वर्ष सोही महिनामा २७ हजार ९३९ वटा मात्र लिखत पारित भएका छन्।

रुस–युक्रेन युद्धको असर र चुलिँदो आयातका कारण नेपालको वित्तीय क्षेत्रले लगानीयोग्य पुँजीको अभाव खेप्दै गएपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्पmत घरजग्गा कारोबारलाई राष्ट्र बैङ्कले निरुत्साहित गर्दै लगेकाले घरजग्गामा बैङ्क तथा वित्तीय क्षेत्रले लगानी विस्तार गर्न सकेका छैनन्। यसबाहेक स्थानीय तहले जग्गा वर्गीकरण गर्न चासो नदेखाउँदा पनि नयाँ कित्ताकाट अवरुद्ध हुँदै आएको छ। सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याउँदै स्थानीय तहमातहत भूउपयोग परिषद्मार्पmत जग्गालाई विभिन्न १० वर्गमा वर्गीकरण गरेर मात्रै कित्ताकाट खुलाउन अनुमति दिएको छ तर स्थानीय निकायले सो कार्य समयमै सम्पन्न नगर्दा जग्गा कारोबारमा मन्दी आएको हो।

भूमि व्यवस्थापन विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार चाडपर्व र चुनावका कारण पनि कात्तिकमा जग्गा कारोबार सुस्ताएको हुन सक्छ। मङ्सिरदेखि घरजग्गा कारोबार क्रमिक रूपमा बढ्ने उहाँको अनुमन छ। “गत वर्षको परिमाणमा त कारोबार छैन तर अब चुनाव पनि सकिने भएकाले केही बढ्ला,” उहाँले भन्नुभयो, “घरजग्गा खरिद–बिक्री गर्नेले पनि वित्तीय क्षेत्रमा केही सहजता आउने आकलन गरेर प्रतीक्षा गरेका पनि हुन सक्छन्, अबका दिनमा अवस्था केही सहज हुन सक्छ।”

उपत्यकामा झन् घट्यो

घरजग्गा कारोबारको अवस्था काठमाडौँ उपत्यकामा झनै कमजोर देखिएको छ। कित्ताकाट भइसकेका जग्गा बिक्री भइसक्ने तथा नयाँ कित्ताकाट हुन नपाउँदा र वित्तीय लगानीसमेत नहुँदा यहाँको कारोबार झनै खस्किएको हो। गत वर्ष कात्तिकमा ललितपुर जिल्लामा एक हजार ५९७ लिखत पारित भएकामा यस वर्ष सोही महिनामा ५९१ मात्रै लिखत पारित भए। भक्तपुरमा गत वर्ष कात्तिकमा एक हजार ६२० लिखत पारित भएकामा यस वर्ष ६४१ मात्रै लिखत पारित भए। काठमाडौँ जिल्लाका विभिन्न ६ मालपोत कार्यालयमा गत कात्तिकमा तीन हजार ८३९ लिखत पारित भएकामा यस पटक एक हजार ५४७ मात्रै पारित भए।

यसको असर घरजग्गा राजस्व सङ्कलन हुने मुख्य क्षेत्र काठमाडौँ उपत्यकाबाटै अधिक खस्किएको छ। ललितपुरमा रहेका दुई मालपोत कार्यालयले गत वर्ष कात्तिकमा ५७ करोड दुई लाख रुपियाँ राजस्व सङ्कलन गरेकोमा यस वर्ष कात्तिकमा १५ करोड ८५ लाख रुपियाँमा सीमित भएको छ। भक्तपुरमा अघिल्लो कात्तिकमा ३४ करोड दुई लाख रुपियाँ राजस्व सङ्कलन भएकोमा यस वर्ष कात्तिकमा आधा घटेर १७ करोड ५६ लाख रुपियाँमा सीमित हुन पुगेको छ। त्यस्तै काठमाडौँ जिल्लाका ६ मालपोत कार्यालयले गत कात्तिकमा एक अर्ब ४४ करोड ४८ रुपियाँ राजस्व सङ्कलन गरेकामा यस वर्ष कत्तिकमा भने ५९ करोड ९६ लाख रुपैयाँमै सीमित हुन पुगेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter