व्यापारीले बढाए बजारभाउ

सीता शर्मा / काठमाडौँ, मङ्सिर ६ गते । पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । सरकार र सरकारका नियमनकारी निकाय सङ्घीय तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहानामा खाद्यवस्तुको भाउ बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५ दिनमा खाने तेलको मूल्य प्रतिलिटर १० रुपियाँसम्म बढेको छ । तोरीको तेल प्रतिलिटर १० रुपियाँ, सनफ्लावर प्रतिलिटर १० रुपियाँ र भटमासको तेल प्रतिलिटर पाँच रुपियाँ बढेको सङ्घले जनाएको छ । चामल २५ केजीको प्रतिबोरा १०० रुपियाँ बढेको छ । दाल, गेडागुडीलगायका सबै वस्तुको भाउ त्यसैगरी बढेको छ ।

उपभोक्ता अधिकारकर्मीहरू बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप लगाउँछन् । राष्ट्रिय उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भारतले चामलमा यसअघि लगाएको २० प्रतिशत कर छुट गरे पनि चामल उद्योगीले झन् बढाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “चामलमा भारतले कर घटाएको एक महिना हुँदासम्म मौज्दात रहेको र त्यति बेलै बढेर आएको भन्दै झन् बढाएका छन् । खाने तेलको भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ भर्खर बढेको भन्ने हल्ला मात्रै आएको छ तर बजारमा तेलको भाउ बढिसकेको छ ।” बजारमा कालोबजारी गर्नेलाई प्रश्रय दिने काम सरकारका जिम्मेवार निकायबाट भएको पनि उहाँको आरोप छ ।

बजारमा हरेक सामानको भाउ अस्वाभाविक रूपमा महँगो भएको छ तर बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भूमिका नै सन्देहपूर्ण रहेकाले पनि मूल्यवृद्धि मनमौजी हुने गरेको आरोप उपभोक्ता अधिकारकर्मीको छ । “जुन तरिकाले बजारको हस्तक्षेपकारी अनुगमन हुनुपर्थ्यो, त्यो विभागले गर्नै सकेको छैन,” अर्का उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले थप्नुभयो । उहाँले नियमनकारी निकायले आयात भएका वस्तुको आयात गरेको मूल्य र स्वदेशमा ल्याएर कारोबार गरिएको मूल्यको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आयात भएका वस्तुमै सीमित व्यापारीले कार्टेलिङ गर्न थालेका छन्, नियमनकारी निकाय जिम्मेवार छैनन् ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमप्रसाद भट्टराईले कतिपय वस्तुको मूल्य वृद्धि स्वाभाविक भएको तर अस्वाभाविक बनाउन खोज्नेलाई अनुगमन गरी जरिवाना वा कारबाही गरिएको बताउनुभयो ।

अहिलेको मूल्य वृद्धिमा निर्वाचन मात्रै कारण नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले बजारभाउ बढ्नुमा बैङ्कको ब्याजदर वृद्धि, सरकारको आयात निरुत्साहन नीति पनि कारण हुन् ।”

निर्देशक भट्टराईले विभिन्न बहानाबाजी गरेर अस्वाभाविक मूल्य वृद्धि गरे नगरेको अनुगमन गर्ने कार्य तीव्र पारिने दाबी गर्नुभयो । उहाँका अनुसार विभागले हाल दैनिक चारवटा टोलीले बजार अनुगमन गरेर कैफियत भेटिएका ठाउँमा कारबाही गर्ने काम गरिरहेको छ । निर्वाचनका कारणले विभागको केही जनशक्ति बाहिर रहँदासमेत अन्य शाखाका काम रोकेर भए पनि अनुगमनलाई प्राथमिकता दिइएको दाबी उहाँको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter