विराटनगर आईसीपी : थप पूर्वाधार निर्माणको प्रक्रिया सुरु

नवराज कट्टेल / विराटनगर, मङ्सिर ११ गते । विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड रुपियाँको लागत अनुमान गरिएको छ । तत्कालका लागि कस्टम यार्ड र एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपियाँको लागत अनुमान गरिएको छ ।

भारतको बथनाहादेखि विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन नेपालले गर्नुपर्ने आवश्यक तयारी सुरु गरिएको हो ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार पहिलो चरणमा कार्गो रेलले नेपाल कस्टम यार्डसम्म ल्याएका कन्टेनरलाई मालवाहक सवारी साधनबाट आईसीपीको भन्सार यार्डसम्म लैजान प्रयोग हुने करिब दुई सय मिटर सडकलाई स्तरोन्नति गरिने छ । त्यसपछि कस्टम यार्ड र आईसीपीबीचको भागमा रेल यार्ड र कन्टेनर यार्ड निर्माण गरिने छ । यी दुवै प्रक्रियाका लागि गत भदौ १७ गते बोलपत्र आह्वान गरिएको थियो, जसको सम्झौता यही हप्तामा हुनेछ ।

कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, “रेल यार्ड र कन्टेनर यार्डका लागि ठेक्का आह्वान गरिएको छ । अब प्लेटफर्म विस्तार, आईसीपीभित्रसम्म पहुँच मार्ग र आईसीपीभित्र कन्टेनर राख्न यार्डको काम गर्नुपर्नेछ । सम्झौता भएसँगै आगामी डेढ महिनाभित्रदेखि काम सुरु गरिने भएको छ ।”

मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग सम्पन्न भएपछि बुधनगरको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउने तयारीसमेत भइरहेको छ । त्यसका लागि कन्टेनर लिएर आउजाउ गर्ने सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखिएको छ । नेपाल कस्टम यार्ड र आईसीपीबीचको दुई सय मिटरको सडक कालोपत्रे भएको छ तर भारी सवारी साधनको भारबहन थेग्ने अवस्थामा छैन ।

नेपाल कस्टम यार्ड र आईसीपी बीचमा ८७५ मिटर लम्बाइ र ३१ मिटर चौडाइको यार्ड पहिलो चरणमा निर्माण हुनेछ । त्यसपछि दोस्रो चरणमा आईसीपीभित्रको खाली जमिनमा थप ४० मिटर चौडाइ कन्टेनर प्लेटफर्म निर्माण गरिनेछ । त्यसपछि आईसीपीभित्रै ७१ मिटर चौडाइको कन्टेनर प्लेटफर्म हुनेछ ।

रेलमार्गको १८.६ किलोमिटरमध्ये बथनाहा रेल–वे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दूरीमा २०७६ कात्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । त्यसपछि बारम्बार रेलमार्ग विस्तार प्रयोजनका लागि आवश्यक सामग्री लिएर रेल आइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter