‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’

भोजपुर / मङ्सिर २८ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।

प्राविधिक शिक्षालयको स्थापनाबाट यस क्षेत्रका युवालाई आफ्नै गाउँ-ठाउँमा रहेर प्राविधिक शिक्षा प्राप्त गरी समाज र राष्ट्रको उन्नति प्रगतिका लागि योगदान गर्ने अवसर प्राप्त हुने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो।

राष्ट्रपति भण्डारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) द्वारा आयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवनको बुधबार समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो।

उहाँले यस शिक्षालयको रोजगारीको खोजीमा विदेश नै जानुपर्ने परिस्थितिको अन्त्य गर्न समेत मद्दत पुग्ने अपेक्षा पनि उहाँले गर्नुभएको छ। भोजपुर जिल्लाको दुर्गम गाउँ आमबोटेमा बनाइएको शिक्षालयको नवनिर्मित भवनको उद्घाटन पनि गर्नुभयो।

जन्म घर पुग्नु भएकी राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा भन्नुभयो, ‘‘कार्यक्रममा सहभागी भई मेरो जन्मघर‚ गाउँ र जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने सुअवसर पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ। म यहीको खेतबारी, उकाली-ओराली, खोलानाला र वनजङ्गलहरूमा खाइखेली गर्दै हुर्केबढेकी तपाईँहरूकै छोरी-चेली हुँ।’’

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा भोजपुर जिल्लाको भूमिका अग्रणी रहेको छ। यसैगरी, मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक जागरणको क्षेत्रमा समेत भोजपुर जिल्लाको विशिष्ट योगदान रहेको छ।

राष्ट्रपतिले जिल्लाको समग्र विकासका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रका साथै आम नागरिकले समेत समन्वयात्मक रूपमा सामूहिक पहल गरिनु पर्नेमा जोड दिनुभयो।

यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत र साधनको दिगो उपयोग एवं परम्परागत जीविकोपार्जन कृषि प्रणालीलाई व्यवसायीकरण गर्दै कृषि र वन आधारित उद्योगको विकास मार्फत स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ, सम्बोधनको क्रममा राष्ट्रपतिले भन्नुभयो।

लोप हुने अवस्थामा रहेका स्थानीय कच्चा पदार्थ‚ श्रम र सीपमा आधारित भोजपुर जिल्लाका परम्परागत धातु उद्योग‚ कोगटी‚ खाँडी‚ खुकुरी र बेतबाँस लगायतका हस्तकला उद्योगलाई संरक्षण एवं सम्र्धन गरिने पर्ने धारणा पनि उहाँको छ।

यसैगरी, सुन्तला, कागती लगायतका फलफूलका साथै चिया, कफी, अलैँची, अदुवा, बेसार, बदाम लगायतका नगदेबालीको व्यावसायिक उत्पादन गर्न सके जनताको जीवनस्तर सुधार गर्न सकिन्छ।

यसबाट एकातिर आयातित सामग्रीमाथिको हाम्रो निर्भरतालाई न्यूनीकरण गर्न मद्दत पुग्दछ भने अर्कातिर यसबाट स्वदेशमै रोजगारीको समेत सिर्जना गर्न सकिन्छ।

हाल नेपालले व्यहोर्नु परिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि स्वदेशी उत्पादन र उपभोगमा वृद्धि गर्दै आयात प्रतिस्थापन गरिनु अत्यावश्यक छ।

यसैगरी, हतुवागढी‚ थामडाँडा‚ गोल्मेभीर‚ नागछाँगा‚ पामाखाम‚ बेहरेश्वर महादेव‚ टेम्के‚ सेल्मे‚ मैयुङ‚ साल्पा पोखरी‚ दिङ्ला‚ मझुवा बेंसी र टक्सार बजार जस्ता ऐतिहासिक‚ प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा हाम्रो ध्यान केन्द्रित हुन पर्ने सुझाव राष्ट्रपति भण्डारीको छ।

भोजपुरका प्रमुख पर्यटकीय गन्तव्यलाई समावेश गरी ‘मुन्दुम पदमार्ग’ को अवधारणासहित जनस्तरबाट पर्यटन प्रवर्द्धनात्मक अभियान सञ्चालन हुनु प्रशंसनीय छ। यस अभियानमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको समेत समन्वयात्मक सहकार्य हुनु पर्दछ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘भोजपुर र सङ्खुवासभा जिल्लाको सीमा नदीको रूपमा रहेको अरुण नदीलाई आधार बनाएर गरिने विकास निर्माणको लाभ भोजपुरवासीहरूले समेत प्राप्त गरिनु पर्दछ भन्ने आम भोजपुरवासीको माग रहेको सन्दर्भलाई समेत सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ भन्ने मलाई लाग्दछ।’’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter