नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल

विजयकुमार साह / ढल्केबर, मङ्सिर २८ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनुभएन ।

स्थानीयस्तरमा पढाइअनुसारको जागिर पाए पनि नागरिकता समस्याका कारण जागिरबाट वञ्चित भएका चौधरी धनुषाको ढल्केबर चौकमा चिया पसल खोल्नुभएको छ । उहाँ त्यही चिया पसलमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।

बुबाको जन्मसिद्ध नागरिकता भएको कारण आफ्नो नागरिकता बन्न नसकेको चौधरीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘विवश भएर चिया पसल खोलेको हुँ । नागरिकता बन्ने अझै छाँटकाँट छैन । त्यसै बरालिएर बस्नुभन्दा आयआर्जनका लागि तीन महिनाअघि चिया पसल सञ्चालनमा ल्याएको हुँ ।’’

जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बनेको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि नागरिकता पाउने र ढिलै गरेर भए पनि जापान जान पाउने आशा पलाएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सबै आशा निराशामा बदलियो ।

बुवा भोला चौधरीको जन्मसिद्ध नागरिकता छ । आमा सरिताकुमारी चौधरीको वंशज । त्यस्तै हजुरबुवा बर्दी चौधरीको जन्मसिद्ध र हजुरआमा मिना देवीको वंशज । हजुरबुवाको जन्मसिद्ध नागरिकता भएपछि बुवाले वंशजको नागरिकता पाउनुपर्ने थियो ।

तर, २०६३ सालमा खटिएको नागरिकता टोलीले बुवालाई वंशजको नागरिकता नदिएर जन्मसिद्धको नागरिकता दियो । नागरिकता टोलीको त्रुटिका कारण मलगायत सबै भाइ बहिनी अहिले दुःख पाइरहेका छौं, चौधरीले दुखेसो पोख्नुभयो ।

आफ्नो नाममा मोबाइलको सिमकार्ड पनि छैन । आमाको नामबाट सिमकार्ड निकालेर प्रयोग गरिरहेको छु । सवारी चालक अनुमतिपत्र पनि छैन । काम विशेषले बाहिर जाँदा पनि ट्राफिक प्रहरीले रोकेर लाइसेन्स माग्छन् । कहाँबाट ल्याएर दिनु । समस्या सुनाउँदा कतिपयले बुझ्नुहुन्छ नभए जरिवाना काट्नुहुन्छ ।

जन्मदर्ताको आधारमा कक्षा १२ सम्मको पढाइ गरे पनि उच्च शिक्षा अध्ययनका लागि नागरिकता चाहिन्छ । नागरिकता नभएर पढ्नबाट वञ्चित धेरै युवा मजस्तै चिया पसल खोल्न र सानोतिनो काम गरेर बस्न बाध्य छन् ।

नागरिकताविहीन सङ्घर्ष समितिका महासचिव जितेन्द्रकुमार कुशवाहाले संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नाममा नागरिकता नपाउँदा आफूहरु राज्यविहीन हुन पुगेको बताउनुभयो । देशभरिमा करिब छ लाखभन्दा बढी नागरिकताविहीनको सङ्ख्या रहेको बताउँदै अब बन्ने नयाँ सरकारलाई नागरिकता समस्याप्रति गम्भीर बन्न आग्रह गर्नुभयो ।

स्नातक तहमा अध्ययन गर्नका लागि नागरिकता चाहिन्छ । नागरिकता नभएर पढ्नबाट वञ्चित हुनुपर्दा जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाका सन्तानहरु मानसिक समस्याका सिकार हुँदै गएका छन् ।

रोजगारी पाउँदैनन् । रोजगारी नपाएपछि चन्दन चौधरीजस्तै चिया पसल गर्ने र तल्लो तहको काम गर्न विवश छन्, महासचिव कुशवाहाले भन्नुभयो । उहाँले भन्नुभयो नागरिकताविहीनको समस्या भनी साध्य छैन । थुप्रै समस्या छन् । चन्दनजस्ता देशमा लाखौं पात्र छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter