स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

शशिधर पराजुली / विराटनगर, मङ्सिर २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ ।

उद्योग सङ्गठन मोरङले विराटनगरमा बिहीबार आयोजना गरेको सातौँ संस्करणको ‘विराट एक्स्पो’ उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादन प्रवर्धन गरी पुँजी तथा श्रम पलायन रोक्न सकिने बताउनुभएको हो ।

केही वर्ष अघिसम्म औद्योगिक र आर्थिक केन्द्रको रूपमा रहेको विराटनगरले विगतको पहिचान कायम राख्न पछिल्ला दिनमा सङ्घर्ष गरिरहेकाले ऐतिहासिक गौरव कायम राख्न प्रतिकात्मक संरचना निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो । ‘पछिल्ला वर्ष विराटनगरले आफ्नो पहिचान कायम राख्न सङ्घर्ष गरिरहेको छ । इतिहासको गौरव कायम राख्दै पहिचान जोगाउन प्रतिकात्मक संरचना निर्माण गर्न आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।

निजी क्षेत्रबाट व्यापार तथा उत्पादन प्रवर्धन गर्न आयोजना भएको प्रदर्शनीले अर्थतन्त्रलाई टेवा पुग्ने उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘निजी क्षेत्रले औद्योगिक क्षेत्रमा देखिएको समस्या पहिचान गर्न र समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्न आग्रह गर्दछु ।’

व्यापार तथा औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच सम्बन्ध विकास गर्ने भएकाले यसको महत्त्व रहेको बताउँदै उहाँले अनुभव र सिकाइ आदानप्रदानले आर्थिक क्षेत्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । व्यापार मेलाले पर्यटकीय गन्तव्य, कृषि तथा हस्तकलाको प्रवर्धनमा पनि योगदान पुग्ने बताउनुभयो ।

एक्स्पो उद्घाटनका क्रममा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ मा प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रचुरताले विकासको सम्भावनाको दृष्टिले नम्बर एक नै भए पनि यथार्थमा पोजिसन गुम्दैगएको उहाँले बताउनुभयो । सबै काम राज्यले मात्र गर्छ भनेर सोच्न नहुने र निजी क्षेत्रले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

प्रदेशको विकासका लागि एकात्मक र केन्द्रीकृत शासन प्रणाली बाधक रहेको भन्दै सङ्घीयता भनिए पनि सैद्धान्तिक र व्यवहारिक हिसाबले कार्यान्वयनमा नआएको उहाँले टिप्पणी गर्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, ‘सङ्घीयताका कारण विकासको दामासायीकरण भएको छ र बिस्तारै यसले नतिजा ल्याउँदै जानेछ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र यतिबेला आन्तरिक चुनौतीको सामना गरिरहेको बताउनुभयो । नेपाल राष्ट्र बैङ्कले लिएको नीतिका कारण अर्थतन्त्र सङ्कुचनमा परेको भन्दै भुक्तानी सन्तुलनमा मात्र ध्यान दिँदा देशको अर्थतन्त्र चलायमान नभई सङ्कुचनमा पर्दैगएको गोल्छाले टिप्पणी गर्नुभयो ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत लिएको चालु पुँजीसम्बन्धी व्यवस्था स्थगित गर्न आग्रह गर्दै त्यसो नगरिएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने टिप्पणी गर्नुभयो । पछिल्लो समय अर्थतन्त्रका हरेक क्षेत्र सङ्कुचनमा परिरहेको भन्दै त्यसलाई सरकारले चलायमान बनाउन पहल गर्नुपर्ने अध्यक्ष गोल्छाले बताउनुभयो ।

उहाँले निर्माण क्षेत्र ७० प्रतिशत, दैनिक उपभोग्य वस्तु उत्पादन उद्योगहरू १० प्रतिशत, विद्युतीय उपकरणको आयात र खपत ५५ प्रतिशत, विमा व्यवसाय ७० प्रतिशत, होटल व्यवसाय ४० प्रतिशत, घरजग्गा कारोबार ४५ प्रतिशतले सङ्कुचित भएको बताउनुभयो । चार महिनाको अवधिमा डिजेलको खपत २५ प्रतिशतले घटेको भन्दै डिजेलको खपत घट्नुले अर्थतन्त्र चलायमान नभएको सङ्केत गरेको बताउनुभयो ।

कृषि उत्पादन र बजार प्रवर्द्धन तथा नवप्रवर्तनका लागि एक्स्पोले महत्त्वपूर्ण योगदान गर्ने आयोजक संस्था उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताउनुभयो । मुलुकलाई आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने उद्योगको आवश्यकता रहेको भन्दै नेपालले विधुत व्यापारमा जोड गर्नुको साटो सस्तोमा उद्योगलाई बिजुली दिने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

एक्स्पोमा कृषि तथा खाद्यान्न, पर्यटन, औद्योगिक उत्पादन, शिक्षा र स्वास्थ्य आदि प्रदर्शनी कक्षहरू राखिएका छन् । पुस ६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ३६१ स्टलहरू रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter