नागढुंगा नौबिसे सुरुङमार्ग तोकिएको समयमा सम्पन्न नहुने

विष्णु पाण्डेय / काठमाडौं, मंसिर २९ गते। नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै मितिमा सम्पन्न नहुने भएको छ। निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिन ६ महिना बाँकी रहँदा आधा पनि काम नसकिएपछि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न नहुने देखिएको हो।

आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८० जेठ महिनामा सकिँदै छ। तर, यो समयमा अहिले बाँकी रहेको काम सकिने सम्भावना छैन। निर्माण आयोजनाका प्रमुख माधव अधिकारीका अनुसार काम निर्धारित समयमा नसकिने भएपछि आयोजनाको म्याद पुनः थप्नुपर्ने छ ।

भौगोलिक समस्याका कारण निर्धारित समयमै काम सक्न समस्या भएको अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सुरुङ्मार्ग निर्माणको क्रममा अपेक्षा गरिए अनुसारको चट्टान फेला परेन त्यसकारण तोकिएको समयमै काम नसकिने देखियो।’’

सुरुङमार्ग निर्माणको तीन वर्ष पूरा हुँदा भौतिकतर्फ ४६.२६ प्रतिशत र वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको छ। निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि आयोजनाको ५४ प्रतिशत काम बाँकी छ। कोरोना महामारीका कारण सुरुमा आयोजनाको म्याद तीन महिना थपिएको थियो।

साढे दुई वर्षमा सक्नेगरी २०७६ कात्र्तिकमा आयोजनाको निर्माण सुरु गरिएको थियो। अहिले आयोजनाको ६ देखि नौ महिना म्याद थप्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो। अधिकारीले भन्नुभयो, ‘यस आयोजनाको निर्माण तोकिएको समयमा नसकिने भएपछि फेरि म्याद थप्ने कुरा अघि बढेको छ। कम्पनीले ६ देखि नौ महिना म्याद थप गर्न प्रस्ताव गरेको छ।’

म्याद थप हुँदा यसको लागतमा भने वृद्धि नहुने उहाँको भनाइ छ। अधिकारीले भन्नुभयो, ‘आयोजना तोकिएकै मितिमा सक्ने लक्ष्य थियो। तर नसकिने देखियो। यो आयोजनाको म्याद थप गर्दा लागतमा भने वृद्धि हुँदैन।’ यो आयोजना जापानको हाज्मा (आन्द्रो जेभी) ले निर्माणको जिम्मा पाएको हो। आयोजनाअन्तर्गत टनेलतर्फको काम भने ७० प्रतिशत सकिएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाई हुने मुख्य टनेल पूर्व र पश्चिमतर्फ गरेर कुल एक हजार ७११ मिटर खनिसकिएको छ।

दुई हजार ५७७ मिटर इमर्जेन्सी टनेलमध्ये एक हजार ९४८ मिटर खनिसकिएको छ। यस्तै १२८ मिटर दुई टनेललाई जोड्ने बाटोमध्ये ७४.२ मिटर बाटो खनिसकिएको छ। आयोजना प्रमुख अधिकारीका अनुसार अहिले टनेलभित्रकै कामलाई विशेष प्राथमिकता दिइएको छ। जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण र नेपालको सरकारको ६ अर्ब गरेर कुल २२ अर्ब लागत अनुमानसहित यो सुरुङमार्ग निर्माण भइरहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter