राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त; प्रधानमन्त्रीको शपथग्रहण भोलि ४ बजे

काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष ले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको हस्ताक्षर पेश गर्नुभए पछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन छ ।

प्रधानमन्त्री दाहालको उदय यात्रा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्म वि.सं. २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा लिनुभयो ।

वि.सं. २०२६ चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुभई एमपीएसम्मको अध्ययन गर्नुभएको छ ।

कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिनुभएका प्रचण्डको २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा क. कल्याण, क. विश्वास, क. निर्माण र क. प्रचण्ड नाम थियो ।

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगरमा बसाइसराई गर्नुभएका प्रचण्डको वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।

उहाँका तीन छोरी र एक छोरा भए । उहाँ नारायणी विद्यामन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवामा रहनुभएको थियो ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले रामबहादुर थापामगर ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँ विसं २०३८ मा क्षेत्रीय ब्युराे सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभयो ।

विसं २०४१ मा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री हुनुभयो ।

यसैगरी, २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो ।

२०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा उहाँ निर्वाचित हुनुभयो । २०६९ सालमा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै, उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित हुनुभएको थियो ।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३÷४÷१९ गते व्यवस्थापिका–संसदमा नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

यस्तै, उहाँले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी हुनुभएको छ । योसँगै उहाँ तेस्रो पटकको लागि प्रधानमन्त्री बन्नुभएको हो ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या भाग (१, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरुलगायतका पुस्तक प्रकाशित छन् ।

प्रधानमन्त्रीको शपथग्रहण भोलि ४ बजे

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार प्रधानमन्त्रीकाे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबार हुने भएको छ ।

सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उहाँलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा. अधिकारीले दिनुभयो ।

यसअघि दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter