भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

अविनाश चौधरी / धनगढी, पुस १४ गते । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो होमस्टेमा पाहुनाको आगमन सघन हुन नसकेपछि चाहेजस्तो नचलेको हो । योभन्दा पछि स्थापना भएको बर्दियाको डल्ला र पूर्वी नवलपरासीको अमलटारी होमस्टेमा राम्रो व्यापार भइरहेको छ । २०६७ मै स्थापनामा भएको भादा होमस्टेले भने अपेक्षा गरिएअनुसार पर्यटकलाई स्वागत गर्न पाएको छैन ।

भादा होमस्टेमा पर्यटक बढ्न नसक्नुको मुख्य कारण बाटोको समस्या र सेवा सुविधाको अभाव रहेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो ।

उर्मीहुँदै भादासम्म पुग्ने सडक निर्माणको कार्य भइरहेको छ । केही वर्षभित्र राम्रो सडक बनेपछि आवतजावत गर्न सहज हुने विश्वास उहाँले गर्नुभयो । त्यस्तै, भादामा पर्यटक आकर्षण कम हुनुको अर्को कारण होमस्टे आवश्यकताअनुसार व्यवस्थित गर्न नसक्नु हो ।

होमस्टे घरहरू थारु समुदायको परम्परागत शैलीका छन् । तर, पाहुनाहरूको चाहना ‘अट्याच बाथरुम’ सहित आधुनिक सेवा सुविधाको छ । होमस्टेमा आएका पाहुनाले खोजेको रिसोर्ट सरहको सुविधा हुनेगरी व्यवस्थित गर्न नसक्दा पर्यटकलाई बढी दिन टिकाउन नसकेको अध्यक्ष चौधरीको भनाइ छ । ‘पाहुनाहरूले चाहेअनुसारको आधुनिक सुविधायुक्त घर बनाउन दश पन्ध्र लाख रुपियाँ बजेट चाहिन्छ’ उहाँले भन्नुभयो, ‘त्यति लगानी सामान्य किसानले गर्न सक्दैन । लगानी गर्न नसक्दा होमस्टे फस्टाउन सकेन ।’

यद्यपि, लगानी गरेर पर्यटकको चाहना अनुसारको संरचना तयार पारेका होमस्टेमा पर्यटक बढी आकर्षित भइरहेको बताइएको छ । त्यसरी तयार पारिएको ठाउँ होमस्टेभन्दा पनि रिसोर्ट सरह बनेको छ । ‘हामीले बिलकुल टिपिकल थारु परम्परागत घर र अर्गानिक खानपानको सेवा सुविधाका लागि होमस्टे सञ्चालन गरेका हौँ’, स्थानीय अगुवा पदम चौधरीले भन्नुभयो, ‘त्यसलाई सुधारेर आधुनिक बनाउन नसक्दा पर्यटक कम आए । एक त यो प्रदेशमै पर्यटक कम आउने गर्छन् ।’

भादा होमस्टेमा पर्यटक भित्र्याउन स्थानीय सरकार पनि अग्रसर छ । अधिकतम पर्यटक भित्र्याउन प्रयास गरिरहेको वडा अध्यक्ष रामलाल चौधरीले बताउनुभयो । ‘हामीले होमस्टेको प्रवर्धनका लागि बजेट पनि छुट्ट्याइएका छौँ’, उहाँले भन्नुभयो, ‘थारु समुदायको संस्कृति, पहिचान र प्रकृति जोगाउनु पर्छ भनेर वडाले सहयोग गर्दैआएको छ ।’ धनगढीदेखि भादासम्म आउजाउका लागि सहज हुनेगरी बाटो कालोपत्र भएमा भादामा पर्यटक ओइरिने उहाँको भनाइ छ ।

यसैबीच, भादा होमस्टेको प्रवर्धन गर्ने उद्देश्यले आजबाट भादामा होमस्टे महोत्सव आयोजना गरिएको छ । चार दिनसम्म आयोजना हुने महोत्सवको करिब ५५ हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter