जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, पुस १५ गते। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ।

उहाँले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण सिर्जना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो।

गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो।

उहाँले गुण्डागर्दी, सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पूर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनिे निर्देशन दिनुभयो।

कानुन कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानुनले दिएको अधिकार पूर्ण प्रयोग गर्न पनि आग्रह गर्नुभयो। सो अवसरमा गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभएको थियो।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी हासिल गर्नुभयो।

गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्व, नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक पनि गर्नुभयो।

कार्यक्रममा गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवान एवं भिडियो कन्फेरेन्समार्फत सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, गण प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो।

उहाँले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई अहोरात्र जनताको सेवामा खटिइ देशको आन्तरिक शान्ति सुव्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको भन्दै प्रहरीको प्रशंसा गर्नुभयो। सङ्गठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनुहुने सम्पूर्ण पूर्वप्रहरी अधिकृत र बहालवाला प्रहरी अधिकृत तथा जवानप्रति समेत उहाँले सम्मान प्रकट गर्नुभयो।

सङ्गठनको विकास र विस्तार तथा प्रहरी कर्मचारीको वृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “आवश्यकतानुसारको प्रहरी कार्यलयको भौतिक संरचना निर्माण गर्न मन्त्रालयको सहयोग रहनेछ।” प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट सिर्जित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

समारोहमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सङ्गठनको नीति अनुरूप कार्यसम्पादनको मूल्याङ्कनको आधारमा सरूवा, बढुवा पारदर्शीरूपमा हुने एवं प्रहरी अधिकृतको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको पनि जानकारी गराउनुभयो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter