दुर्गममा आँखा उपचार सेवा आवश्यक छ : उपराष्ट्रपति यादव

काठमाडौं, चैत २६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु¥याउन सबै क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उहाँले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “अन्धोपनको प्रतिशतमा कमी देखिए पनि नेपालको जनसङ्ख्या एवं ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको बढोत्तरीले आँखाको सेवा विशेषगरी दुर्गम क्षेत्रमा अझै चुनौतीका रूपमा रहेको छ ।”

नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को शून्य दशमलव ८४ प्रतिशतबाट घटेर सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको हो । तर दुर्गममा आँखासम्बन्धी समस्या अझै रहेको भन्दै त्यहाँ सेवा विस्तार गर्न उहाँले सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि सरकार, गैरसरकारी र निजी क्षेत्रबाट थप प्रयास गर्नुपर्छ ।”

उहाँले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रूपमा हासिल गर्न नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवं सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

अस्पतालका पूर्वअध्यक्ष प्रा.डा. रामप्रसाद पोखरेलले नेपाल आँखा उपचारका लागि स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा प्रगति गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “५० वर्षअघि मोतिविन्दुको उपचारका लागि भारत जानैपर्ने बाध्यता थियो । अहिले भारतबाट नेपाल आउने सेवाग्राहीको घुइँचो छ, यो प्रशंसनीय प्रगति हो ।”

२०३० चैत २६ गते त्रिपुरेश्वरमा निर्माण भएको नेपाल आँखा अस्पतालले स्थापनाको ५० औँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलका अनुसार अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ ।

यस्तै, एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । घरदैलो कार्यक्रमबाट १५ लाखले आँखा उपचार सेवा लिएका छन् ।

अहिले १४ जना नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारको सेवा उपलब्ध छ । दैनिक सात सयजना बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीको आँखा परीक्षण र चस्मा निःशुल्क वितरणसमेत गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter