२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

काठमाडौं, चैत २८ गते । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७ दशमलव पाँच प्रतिशत र चीनतर्फ चार दशमलव नौ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात छ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा निर्यातसँगै विदेशी वस्तुको आयातमा समेत कमी आएको छ । गत आवको तुलनामा आयात १९ दशमलव १ प्रतिशतले घटेर रु १० खर्ब ५८ अर्ब ३९ करोडमा सीमित भएको छ ।

अवधिमा भारतमा १७ दशमलव छ प्रतिशत र चीनमा २१ दशमलव सात प्रतिशतले आयातमा कमी आएको हो । यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, सुन, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको हो ।

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट कमी आएको उल्लेख छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले कमी आई रु ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात/आयात अनुपात नौ दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव तीन प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु ८५ अर्ब १२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ४७ अर्ब तीन करोड बराबरको भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter