ओमानमाथि नेपालको सानदार जित

गाेविन्द रेग्मी / काठमाडौं, वैशाख ८ गते । ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।

जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाउनुभयो ।

यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो ।

यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो ।

उहाँले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गर्नुभएको हो । यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो ।

खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोड्नुभएको हो । यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एकदिवसीय इतिहासकै उच्च योगफल पनि हो ।

नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खुल्नुभयो । दुई ओपनर कुशल भुर्तेल र आशिष् शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेल्नुभएको थियो। उहाँले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाउनुभएको छ । उहाँको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।

उहाँ समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुनुहुन्छ । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हान्नुभएको थियो ।

यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट हुनुभयो ।

बलिङमा ओमानका आयन खानले दुई विकेट लिनुभयो । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिनुभयो ।

समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै चार अंक बनाएको नेपाल समूहको शीर्षस्थानमा छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अर्को खेलमा हङकङले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ लेविस (डिएलएस) मेथोडका आधारमा ६७ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओधभरमा आठ विकेटको क्षतिमा दुई सय ७३ रन बनाएको थियो ।

दुई सय ७४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा युएईले २७ ओभरमा ६ विकेटको क्षतिमा एक सय १७ रन बनाउँदा हाबाहुरीले खेल रोकिएपछि डिएलएस मेथोडबाट हङकङ विजयी भएको हो । लगातार दोस्रो जितसँगै हङकङले समूह ‘बी’ मा चार अंक बनाएको छ ।

ओमानविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी । गोरखापत्र

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter