उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो; मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा

काठमाडौं, वैशाख १० गते। आइतबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ। जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो। यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिनुभयो।

उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा

चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो। उहाँले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताउनुभयो।

२०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने जानकारी दिनुभयो। सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter