व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री महत

काठमाडौं, जेठ ६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकका बारेमा छलफल गर्नुभएको छ। सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको हो। छलफलका क्रममा उठेको जिज्ञासाको जवाफ दिँदै उहाँले व्यक्ति वा पार्टीभन्दा माथि उठेर काम गर्ने बताउनुभएको छ। ‘‘सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात हेरिरहेको छु। यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन। यहाँ देश र जनताको कुरा छ। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु’’, मन्त्री महतले भन्नुभयो।

छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राख्नुभएको थियो।सांसदको जवाफ दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’’

अर्थमन्त्री महतले ज्ञान र अनुभवलाई उपयोग गर्ने तर धेरै हल्ला नगर्ने बताउनुभएको छ। सबै समस्या एकसाथ सफाचट नहुनेसमेत उहाँले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘‘ज्ञान र अनुभवलाई म उपयोग गर्छु। म ठूलो स्वरमा कुरा गर्दिन। सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु। तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन। अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधार गरिनेछन्। धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ।’’

बजेट विनियोजन भएको ९ महिनापछि स्रोत रिलिज गरिदिनुपर्यो भनेर आउनेको काम रोकिदिएको उहाँको भनाइ छ। बजेट कार्यान्वयन चुनौती बनेको उहाँले प्रष्ट पार्नुभयो। ‘‘कार्यान्वयन हाम्रो चुनौती हो। ९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन्। त्यसलाई मैले रोकिदिएको छु। ९ महिनासम्म के गरेर बस्यो ? बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गर्छौं। यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं। यसबारे गृहकार्य भइरहेको छ’’, मन्त्री डा. महतले भन्नुभयो, ‘यो भयो भने हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्छ। पूँजी प्रवाह बढ्छ, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु। समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन। पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ।’’

बैठकमा एमालेका पदम गिरी, सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गर्नुभएको थियो। अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter