भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली, जेठ १८ गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु।”

प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो।

उहाँले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो। “नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संक्षणका लागि पनि महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो।

भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताउनुभयो। यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उहाँको भनाइ छ।

उहाँले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पुर्‍याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो। उहाँले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताउनुभयो। उहाँले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिनुभयो।

उहाँले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो। उहाँले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताउनुभयो। उहाँले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताउनुभयो।

व्यापार सहजीकरणका लागि एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभयो। उहाँले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताउनुभयो।

प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उहाँको भनाइ छ।

प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताउनुभयो। “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, उहाँले भन्नुभयो। उहाँले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो।

भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

सो अवसर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताउनुभयो।

यसअघि नेपाल र भारतबीच विभिन्न परियोजना निर्माण गर्ने सम्झौता भएको छ। प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।

नयाँदिल्लीस्थित भारतका प्रधानमन्त्री मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतका समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए ।

भारतको बथनाहाबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनः परीक्षण गरिएको रेल विभागले जनाएको छ ।

आज उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेसन निर्माण गर्ने सरकारको योजना छ । कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ ।

सो आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएको थियो । यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । सो रेलमार्ग महोत्तरीको बर्दिबाससम्म निर्माणाधीन छ ।

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गर्नुभएको छ । एनपिसिआई भारतको केन्द्रीय बैङ्कले स्थापना गरेको संस्था हो ।

उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्त्वपूर्ण सहमति भएको जानकारी दिनुभयो ।

उहाँले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताउनुभयो । नेपाल र भारतका नागरिकले यसबाट ठुलो लाभ प्राप्त लिन सक्ने उहाँको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्युआर कोड स्यानमार्फत हुनेछ ।

भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैङ्कको लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रूपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो ।

यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत व्यापार सम्झौतामार्फत हुने भएको छ । यसबाट ऊर्जा उद्यमीलाई पनि राहत मिलेको छ । नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको छ । त्यसमा माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुली समेत भारतले खरिद गर्ने भएको छ ।

लामो समयदेखि नेपालका ऊर्जा उद्यमी तथा व्यवसायीले दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमति भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)लाई आगामी तीन महिनाभित्र सहमति जुटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिइएको छ । यसबाट लामो समयदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर आयोजनाले गति लिने विश्वास गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदी दुवैले बिजुली व्यापारसम्बन्धी दीर्घकालीन विषयमा सहमति भएको जानकारी दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा फूकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजना अगाडि बढाउने सहमतिले नेपालको बिजुलीको अन्तर्राष्ट्रिय बजार खोजीका लागि मार्गप्रशस्त भएको छ ।

दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमतिले नेपालको ऊर्जा व्यापारमा भारतीय लगानी विस्तार हुने विश्वास लिइएको छ । केही रणनीतिक महत्त्वका आयोजना अगाडि बढेको खण्डमा व्यापार घाटा कम गर्न, रोजगारीको अभिवृद्धि गर्न तथा विदेशी मुद्रा आर्जनमासमेत सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि नेपाल विद्युत प्राधिकरणले वर्षाको समयमा प्रत्येक १५ मिनेटमा प्रतिस्पर्धा गरी खुल्ला बजारमा विद्युत निर्यात गर्दै आएको थियो । त्यसलाई आइएक्स मार्केटका रूपमा लिइन्छ । मध्यकालीन सम्झौताले व्यवसायीलाई ठुलो राहत पुग्नेछ ।

यसअघि गत वर्षामा विद्युत प्राधिकरणले खुला बजारमा चार सय ५२ मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । त्यसमा प्रत्येक १५ मिनेटमा प्रतिस्पर्धा गरी दर निर्धारण हुने तथा दरमा उतारचढाव हुने भएकोले प्राधिकरणले सस्तोमा बिजुली बेच्नुपर्ने अवस्था आएको थियो । दीर्घकालीन सम्झौताले नेपालको ऊर्जा बजारको खोजी तथा निजी उद्यमी व्यवसायीलाई पनि थप सहज बनाइदिएको छ । भारतीय प्रधानमन्त्री मोदीलेसमेत नेपालको ऊर्जा व्यापारका सन्दर्भमा दुई देशबीच महत्त्वपूर्ण मार्ग प्रशस्त भएको उल्लेख गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter