विनोदको एकल लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्दै

काठमाडौं, जेठ २९ गते । सरकारले ठूलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेको छैन । तर, रुपन्देहीका विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने अठोट गर्नुभएको छ ।

विनाेदको एकल लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्न लागेको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १७ दरखसवामा बन्ने ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ को सोमबार शिलान्यास गरिएको छ ।

क्रिकेट मैदानको तिलोत्तमा नगरपालिकाको प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जागेश्वर देव चौधरी, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सचिव प्रशान्तविक्रम मल्ल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

मैदान निर्माण गर्न ४० करोड रुपियाँ बजेट अनुमान गरिएको विनोदले बताउनुभयो । मैदान निर्माणका लागि दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक समेत रहनुभएका विनोदले जानकारी दिनुभयो ।

यस मैदानमा दुई साताअघि देखि आठ सय ट्रक माटो हालेर जग्गलाई सम्याउने कार्य सम्पन्न भएको छ । मैदान निर्माणसँगै पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइने छ । प्रत्येक वर्ष पाँच पाँच हजार क्षमताको दरले निर्माण गरिँदै आगामी चार वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाइने एक्स्ट्राटेक ओभल प्रालिको योजना छ ।

विनोदले भरतपुरमा मैदान बनाउन नसकेको कुरालाई ध्यानमा राखेर आफूले मैदान निर्माणका लागि आवश्यक रकम सुनिश्चित गरिसकेको बताउनुभयो । क्रिकेट मैदानमा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहनेछ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने योजना विनोदको छ ।

यस क्रिकेट मैदानको स्वामित्व समेत एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोदमा निहित रहने बताइएको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । पूर्व खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहनुभएको छ ।

एकेडेमी र ट्रेनिङ सेन्टर जिम्मेवारी शक्तिलाई नै दिने बताइएको छ । मैदान रेखदेखसहित क्युरेटरको जिम्मेवारी माधव पाठकले निर्वाह गर्नुहुनेछ । माधवले लामो समय संयुक्त अरब इमिरेट्स (यूएई) मा बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा क्युरेटरको भूमिका समेत निभाउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter