सात क्षेत्रलाई औद्योगिकग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, असार १२ गते। सरकारले विभिन्न ६ वटा जिल्लाका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट, बाँके, पाल्पा, अर्घाखाँची पर्सा र बाराका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न जिल्लाका सात क्षेत्रलाई औद्योगिकग्राम घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभएको हो।
बैठकपछि मन्त्री शर्माले भन्नुभयो, ‘‘रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ।’’
सँगै व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरेको छ। पदोन्नती गर्दै सरकारले लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ।