संघर्षमै बित्यो कमलरीको मुक्त घोषणाको दश बर्ष

लीलाधर वली / घोराही, असार १३ गते । सरकारले कमलरी प्रथा उन्मुलन गरेको दश बर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरीकावीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो ।

कमलरी मुक्त घोषणा भएको दिनलाई मुक्त कमलरीले मुक्ति दिवसका रुपमा मनाउने गरेका छन् । कमलरी मुक्तदेश घोषणा भएको दश बर्ष पूरा भएको अवसरमा आज मुक्त कमलरीहरुले घोराही उपमहानगरपालिका –१७ को चौघेरामा १० औं कमलरी मुक्ति दिवस मनाएका छन् ।

सरकारले कमलरी मुक्त घोषणा गरे पनि मुक्त कमलरीलाई शिक्षा, स्वास्थ्य, सीप सिकाउनसँगै पुनःस्थापनामा ध्यान नदिँदा कतिपय कमलरी अरुकै साहरामा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

सरकारसँग भएको सहमतिअनुसार सरकारी परिचयपत्र प्राप्त गरेका मुक्त कमलरीले राज्यले प्रदान गर्ने छात्रवृत्तिलगायतका सेवा सुविधाहरु प्राप्त गरे पनि लगत लिनबाट छुटेका कमलरीले सेवा सुविधा प्राप्त गर्न नसकेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरादेवी चौधरीले बताउनुभयो ।

केन्द्रीय अध्यक्ष चौधरीका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चार हजार नौ सय ३४ जनाले सरकारी परिचयपत्र प्राप्त गरेका छन् । अझ सात हजार आठ सय ३५ जना कमलरीको सरकारले लगत संकलन नगर्दा सरकारी परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । सरकारी परिचयपत्र नहुँदा राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

मुक्त कमलरीमध्ये ९ सय ९७ जना मावि र २ सय ७७ जनाले क्याम्पस तहमा अध्ययनरत छन् । क्याम्पस तहमा अध्ययनरत मुक्त कमलरीहरुले छात्रवृत्ति पाउन नसकेको अध्यक्ष चौधरीले बताउनुभयो ।

मुक्त कमलरीमध्ये विभिन्न सिप सिकेर पाँच सय २५ जना विभिन्न व्यवसाय र ८८ जना विभिन्न संघ संस्थामा रोजगारीमा संलग्न रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मुक्त कमलरीको उचित पुनःस्थापना नहुनु, छुट कमलरीको लगत संकलन हुन नसक्नु, परिचयपत्र वितरण नगर्नु, छात्रवृत्ति रकम निकै न्यून रहेको, स्नातकोत्तर तहमा अध्ययनरतका लागि छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, हत्या भएका, बेपत्ता पारिएका, यौन शोषणमा परेका, कुमारी आमा बनेका मुक्त कमलरी र उनीहरुका परिवारलाई न्याय र क्षतिपूर्तिका साथै दोषीलाई कार्वाही गर्नुपर्ने उहाँहरुको माग छ ।

नेकपा (एमाले) कि पोलिटव्यूरो सदस्य शान्ता चौधरीले कमलरीले प्राप्त उपलव्धीको रक्षा गर्दै आत्मनिर्भरमा कमलरीहरु ध्यानदिनुपर्ने बताउनुभयो । सहयोगका लागि आश गर्ने बानीलाई परिवर्तन गरेर मुक्त कमलरीले अव आफै आर्थिक रुपमा सक्षम हुनेगरी योजना बनाउनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘कमलरीहरुले सधै अरुको आश गर्नुहुन्न । अव आयआर्जन माध्यमबाट आत्मनिर्भर बन्नतर्फ लाग्नुपर्छ । त्यसका लागि सीपमुलक कार्यक्रममा सरकारले जोड दिनुपर्छ ।’

विगतका तुलनामा कमलरीले धेरै अधिकार प्राप्त गरे पनि सरकारसँग भएको सम्झौताअनुसार कमलरीहरु समाजमा पुनःस्थापना हुनुपर्ने, सीप सिकाउनुपर्ने, उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न उहाँले माग गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter