२२ वर्ष भारतको रोजगारी, अहिले गाउँमै ताजा तरकारी

तिलाचन पाण्डे / तम्घास, असार २५ गते । छत्रकोट गाउँपालिका –२ का ५० वर्षीय इमानसिंह राना घरमा आर्थिक अभावका कारण २२ वर्ष भारतका विभिन्न स्थानमा गएर काम गर्नुभयो । अहिले आफ्नै गाउँमा ताजा तरकारी फलाएर राम्रो आम्दानी गर्नुभएको छ ।

घरको आर्थिक अवस्था सुधार गर्न भारत पस्नुभएका रानाले होटल, कम्पनी, घरमा गरी काम गरेको सम्झनुभयो । लामो समय भारतमा बिताउनुभएका रानाले अब नेपालकै माटोमा केही गर्नुपर्छ भन्ने उद्देश्यले २०७३ सालमा नेपाल आएर इमानकली कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कृषि पेसामा लाग्नुभएको छ ।

उहाँले अहिले १५ रोपनी क्षेत्रफलमा प्लाष्टिक टनेलमा टमाटर, बन्दा, काउली, धनियाँ, अकबरे खुर्सानी लगाएर राम्रो आम्दानी गर्नुभएको छ । अहिले वार्षिक रूपमा सबै खर्च कटाएर १५ लाख रुपियाँ बचत गरेको बताउनुभयो । यस क्षेत्रमा आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै श्रीमतीको ठुलो साथ रहेको र चार जनालाई नियमित रोजगारी दिएको रानाले बताउनुभयो ।

पछिल्लो समय युवाहरू विदेशीनेक्रम जारी रहेको बताउँदै उहाँले युवालाई ऊर्जावान् समय नेपालकै माटोमा खर्चन आग्रह गर्नुभयो । ऊर्जावान् समयलाई नेपालकै माटोमा खर्चिन सके नेपालमै सुन फलाउन सकिने उहाँको भनाइ छ ।

आफूले उत्पादन गरेका सबै कृषिउपजहरुका लागि बजारको कुनै समस्या नभएको र बजारीकरणका लागि पैँचो पसलसँग सहकार्य गरेको रानाले बताउनुभयो । सिँचाइका लागि पानीको समस्या भएको बताउँदै रानाले त्यसको उचित व्यवस्थापन गर्नसके अझै राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो ।

यता, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले युवाहरूलाई व्यावसायिक रूपमा कृषि पेसामा टिकाइ राख्न, प्राविधिक ज्ञान र अनुदानमा सहयोग गर्दैआएको बताउनुभयो । रानाले सञ्चालन गरेको फर्मका लागि यसै आर्थिक वर्षमा करिब दुई लाख पचास हजार रुपियाँ अनुदान उपलब्ध गराएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter