आधुनिक कृषि खेतीले फेरियो जीवन

राजकुमार भट्टराई / खोटाङ, साउन ५ गते। आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहीरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नुभएको छ। तर खेती गर्ने तरिका फरक छ।

आमा सञ्चहीरा राईको मिहिनेतले उत्पादन भएको तरकारी जिल्लाकै ठुलो बजार ऐंसेलुखर्क बजारमा हरेक हप्ताको शनिबार बिक्री हुन्थ्यो। कृषि क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालय वा संघ संस्थाले उहाँलाई चिन्दै आएका थिए । धेरैचोटी उत्कृष्ट कृषकको पुरस्कार पनि सञ्चहराले प्राप्त गर्नुभएको छ। यद्यपि तरकारी खेतीबाट धेरै आम्दानी भने हुन सकेको थिएन। तर खेती गर्ने तरिका परिवर्तन गरेपछि अहिले कृषि खेतीबाट मनग्ये आम्दानी हुन थालेको छ। खेतीबाटै जीवन चल्न थालेको छ।

किशोर राईको अहिले ३२ रोपनी क्षेत्रफलमा किवी खेती हुँदै आएको छ। ३५० बोटबाट उत्पादन भइरहेको किवीले वार्षिक आम्दानी पनि राम्रै दिँदै आएको राई सुनाउनुहुन्छ। किवीसँगै राईको फर्ममा किवी नर्सरी, वन नर्सरी, बन्दा, काउली, आलु, जुखुनी फर्सी, गाँजर, खुर्सानी, साँगलगायतका तरकारी खेती पनि छन्।

राईको फर्मका तरकारीको स्वाद ऐंसेलुखर्कका प्राय घर र होटलसम्म पुग्ने गरेको छ। नेपाल आर्मी, नेपाल प्रहरी लगायतका कार्यालयमा पनि सोही फर्मबाट तरकारी जाने गरेको छ। तरकारी उत्पादनमा राईलाई श्रीमती कमला र आमा सञ्चहीराको दरिलो साथ छ। जमिनमा विभिन्न रोग तथा कीरा लाग्ने भएको कारण उहाँले टाँड बनाएर तरकारीको नर्सरी र तरकारी लगाउनुभएको छ।

बिरुवा र तरकारी दुवैको बजार राम्रो रहेको उहाँ बताउनुहुन्छ। अन्य बार तरकारी खरिद गर्न होटल पसलबाट फर्ममै ग्राहक आइपुग्ने राईको भनाइ छ। साप्ताहिक हाट शनिबार भने बजारमा लगेर तरकारी बिक्री गर्ने गरेको उहाँ सुनाउनुहुन्छ। तरकारी जस्तै किवी पनि घरबाटै बिक्री हुने गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा करीब १२ वर्ष विभिन्न देशमा बिताउँदा पनि खासै प्रगति नभएपछि कृषितर्फ लागेको राई बताउनुहुन्छ। आमाले गर्दै आएको परम्परागत खेतीलाई आधुनिक तरिकाले सुरु गरेपछि विस्तारै मन कृषिमै भुलिन थालेको उहाँको भनाइ छ। नायुमा कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र दर्ता गरेर करीब २०६५ सालदेखि कृषि खेती सुरु गरेको राईको भनाइ छ।
सुरुमा अलैंची खेतीबाट आफ्नो कृषि यात्रा सुरु गर्नुभएका राईले, वन नर्सरीलाई पनि सँगै डोर्याउनु भयो। अहिले उहाँको विशेष आकर्षण किवी खेतीमा छ। तरकारी खेतीलाई पनि सँगै लिएर हिँड्नु भएका राईले किवीका बिरुवा भने थप्दै जाने बताउनुहुन्छ। किवी र तरकारीबाट हाल उहाँको वार्षिक ७÷८ लाख कमाइ भइरहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter