रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

चितवन, साउनन १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्नुभएको हो ।

घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ ।

बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुनेछ । लामिछानेले निर्वाचनको समयमा घोषणा गर्नुभएको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गर्नुभएको छ । उनीहरुलाई मासिक रु. ४० हजारदेखि रु. एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुनेछ ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गर्नुभएको छ । पैँसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिनेछ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको छ ।

उहाँले स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु. पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने बताउनुभयो । पहिलो चरणमा एक सय जनालाई समावेश गरिनेछ ।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ट शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइनेछ । यससँगै अन्य कक्षा र अरु विद्यालय नमुना बनाउँदै लगिनेछ । उहाँले इच्छाकामनाको भाराङकाे आधारभूत विद्यालयलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गरी आवासीय विद्यालय बनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमको घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उहाँले २० जनाको स्वयमसेवी समूह (आरएटी) परिचालन गरिने बताउनुभयो । वर्षातको समयमा मात्र यो र्‍यापिट एक्सन टिम परिचालन हुनेछ । उहाँकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार एक सय ७४ बराबर फलफूल र बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा ‘एक मत एक बिरुवा’ रोप्न लागिएको हो । कार्यक्रमका लागि आवश्यक बजेट जुटाउन चितवन क्लब गठन गरिनेछ ।

क्लबमा विदेशमा रहेका चितवनवासीलाई समावेश गरेर आर्थिक सहयोग जुटाइने उहाँले बताउनुभयो । लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ । कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटन गर्नुभएको हो । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको आज एक सय दिन पुगेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter