पोखरेली सडकमा विश्व बैंकको साढे ती अर्ब लगानी

फडिन्द्र अधिकारी / लेखनाथ, साउन १७ गते । विश्व बैंकले पोखराका थप दुई सडक खण्डमा लगानी गर्ने भएको छ । विश्व बैंकको लगानीमा तालचोकदेखि वेगनासतालसम्मको सडक निर्माण हुँदैछ । यो सडकमा ७५ करोड लगानी भएको छ ।

पोखरामा २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८ सय ८ नेपाली रुपियाँ) लगानी गर्ने योजनाअनुरुप तालचोकदेखि वेगनासताल निर्माणपछि बाँकी पैसा अरु दुई सडकखण्डमा लगानी हुनेभएको हो । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप दुई परियोजना छानेको छ ।

बिरौटादेखि पुडिँटार र लेखनाथचोकदेखि डाँडाकोनाक, शिशुवा, खुँदिखोला हुँदै गगनगौंडा सडक स्तरोन्नतिका लागि महानगरले छानेको छ । महानगरको साउन १४ गते बसेको कार्यपालिका बैठकले यी सडक छनोट गरेको प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । सन् २०२६ मार्च ५ भित्र सडकको काम सक्ने लक्ष्य छ ।

स्तरोन्नति हुने दुवै सडक चार लेनका हुनेछन् । सडकको दायाँ–बाँया दुवैतिर साइकल लेन बनाइनेछ । बीचमा बगैंचासहितको डिभाइडर राख्ने योजना छ । विश्व बैंकको सहयोगमा अहिले तालचोकदेखि बेगनासको सडक स्तरोन्नति हुँदैछ प्रमुख आचार्यले भन्नुभयो, “यसबाहेक थप दुई परियोजना हामीले छनोट गरेकाछौँ । यी सबै परियोजना साढे दुई वर्षभित्र बनिसक्ने सम्झौता छ ।”

तालचोक बेगनास सडक स्वच्छन्द–सपना–वल्र्ड वाइड जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ । तीन वटै सडक स्तरोन्नतिपछि नमुना बन्ने उहाँको भनाइ छ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८ सय ७३ रुपियाँ लगानी हुनेछ ।

बिरौटा–पुडिटार सडक डेढ अर्ब र लेखनाथचोक, डाँडाकोनाक, शिशुवा, खुँदिखोला, गगनगौडा सडक स्तरोन्नति गर्न एक अर्ब लागत लाग्ने अनुमान छ । पछि छानिएका दुई सडक परियोजनाको सर्भेका लागि विश्व वैंकको प्राविधिक टोली खटिने प्रमुख आचार्यले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter