सबैले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ : अर्थमन्त्री डा. महत

वीरगन्ज, साउन १८ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताउनुभएको छ। बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताउनुभएको हो। ‘‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौँ’’, मन्त्री डा. महतले भन्नुभयो।

मन्त्री महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको बताउनुभयो। त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताउनुभयो।बजारमा प्रशस्त माल वस्तु भए पनि राजश्व घटिरहेको भन्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन्। हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दिएऔं भने राजस्व कम उठ्छ।’’

झन्झटिलो प्रक्रियाले व्यवसायीले जोखिम मोलेर अर्को बाटो रोज्ने गरेको उहाँको भनाइ छ। ‘‘हामी अनावश्यक झन्झट दिन्छौँ, जायज कुरालाई पनि यो भएन भन्छौँ, अरू खाले माग गरिराख्यौँ भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौँ’’, मन्त्री डा. महतले भन्नुभयो, ‘‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ।’’

राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभएको छ। ‘‘जायज कुरालाई नाजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्छन्’’, मन्त्री महतले भन्नुभयो, ‘‘राजश्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ। भन्सार नाकाभन्दा बाहिरबाट माल वस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ। प्रविधिको अपग्रेट हुनुपर्छ। सुख्खा बन्दरगाहमा ठुलो मेसिन आयो, त्यो उपयोगमै आएन। किन आएन कसैलाई थाहा छैन, अरूले सहयोग नै गर्न चाहेनन्। यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो। प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो। त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईँहरूले सहयोग गर्नुपर्छ।’’

मन्त्री महतले कर्मचारीले फाइदा उठाउन भन्दा काम गर्न आएको भनेर मनन गरेमा राजस्वले लक्ष्य भेट्ने विश्वास व्यक्त गर्नुभयो। ‘‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन। फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजश्वले लक्ष्य भेट्ने छ। राजश्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा स्पष्ट हुनुपर्छ’’, उहाँले भन्नुभयो।

उहाँले भन्सार योगदानको ४० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुनेसमेत प्रष्ट पार्नुभयो। ‘‘हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ। यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार आन्तरिक राजश्वबाट उठाउनुपर्छ। यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ। भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ। यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्छ’’, मन्त्री महतले भन्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter