चाइना रेलवे परियोजनामा पोखरा महानगरको साथ

सन्तोष सुवेदी / कास्की, साउन २० गते । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विस्तृत रेलमार्गको अध्ययनका लागि तथ्याङ्क सङ्कलन गरिरहेको टोलीले पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका क्रममा आउने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि आफूहरू तयार रहेको बताउनुभयो । ‘‘यो परियोजना अगाडि बढ्यो र अध्ययन तथा निर्माणका दौरानमा हाम्रो महानगरभित्र कुनै अवरोधहरू सिर्जना भएको खण्डमा तत्काल समाधान गरिनेछ । स्थानीय सरकारको तर्फबाट विकासका सवालमा समन्वयात्मक भूमिका रहन्छ’ उहाँले भन्नुभयो । पर्यटन क्षेत्र पहिलो प्राथमिकता रहेको भन्दै प्रमुख आचार्यले पर्यटनको क्षेत्रमा लगानी बढाउन सकिने टोलीलाई सुझाउनुभयो ।

सो क्रममा चिनिया टोलीले रेलमार्गका अलावा पोखराको औद्योगिक विकासको सम्भावना र जनशक्ति उपलब्धतासहित परिचालनका विषयमा चासो राखेको थियो । कोरोना भाइरसको सङ्क्रमण पूर्व र पश्चात् चिनियाँ पर्यटकको पोखरा आवागमनको दरका विषयमा समेत टोलीले जिज्ञासा राखेको थियो । चाइना नेपाल इकोनोमिक कोरिडोरको विकासका लागि चिन सकारात्मक रहेको टोलीले जनाएको छ ।

हरित सहरी विकास र बृहत्तर पोखराको अवधारणा केन्द्रित विकासका नयाँ सम्भावनाको सवालमा समेत चिनियाँ चासो रहेको थियो । प्रमुख आचार्यले आफूहरू पोखराको दिगो भविष्य निर्माण गर्ने दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको बताउनुभयो । दिगो पर्यटन विकासका विभिन्न परियोजनाहरू सञ्चालनको क्रममा रहेका उहाँले बताउनुभयो । पोखरा–काठमाडौँ रेलमार्ग निर्माणले गति लिए पोखराको पर्यटन र समग्र अर्थव्यवस्थामा सकारात्मक प्रभावहरू देखिने उहाँले बताउनुभयो ।

चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू सम्मिलित टोलीले अध्ययन पश्चात् तीन वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी पेस गर्ने जनाएको छ । टोलीका अनुसार पहिलो एक वर्षमा सर्भे सम्पन्न गरी डेढ वर्षभित्र फिल्डमा पुगेर सर्भे र म्यापिङ गरिनेछ । आगामी एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने छ ।

काठमाडौँमा कार्यालय समेत खोलेरै काम सुरु गरेको चिनियाँ टोलीले हाल रेलमार्गको स्थलगत अवलोकनसहित अध्ययनको काम गरिरहेको छ । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डिपिआरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter