सामुदायिक वनमा संस्थागत अतिक्रमण बढ्दै

चाँदनी आचार्य / कैलाली, साउन २३ गते । कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ । सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भएपनि विभिन्न सङ्घसंस्था लगायत सरकारी कार्यालय, वडा कार्यालयहरू समेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको मोहन्याल सामुदायिक वनमा अहिले दुई वटा भवन निर्माण हुँदैछन् । एउटा भवन दलित सङ्गठन नगर समिति र अर्को अपाङ्ग सङ्घ नगर समितिले भवन निर्माण सुरु गरेको हो । उक्त सामुदायिक वनका अध्यक्ष तेजराम चौधरीले सामुदायिक वनकै कार्यालय र हल निर्माण गर्ने निर्णय भएको बताएपनि कानुन सम्बद्ध अरूलाई भवन बनाउन दिने निर्णय गर्न नमिल्ने भएपछि सामुदायिक वनकै प्रयोजनमा निर्णय गरिएको बताउनुभयो ।

उपभोक्ताहरूकै सङ्घसंस्था भएकाले सामुदायिक वनको प्रयोजन देखाइएपनि सङ्घसंस्थाको भवन बन्न थालेको एक उपभोक्ताले बताउनुभयो । त्यसैगरी, घोडाघोडी सामुदायिक वनमा समेत गत वर्ष आधारभूत स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । त्यसैको नजिक यो वर्ष मजदुर सङ्गठनको पक्की भवन निर्माण भएको छ । यी त एक दुईवटा सामुदायिक वनका उदाहरण मात्र हुन् । कैलालीमा पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गत रहेका ३१३ सामुदायिक वनमध्ये राजमार्गसँग जोडिएका, बजार क्षेत्र नजिक रहेका वनक्षेत्रमा सामुदायिक वनका भवनबाहेक सरकारी भवन तथा विभिन्न सङ्घसंस्थाका भवन बन्नेक्रम बढ्दै गएको देखिन्छ ।

साँडेपानी सब-डिभिजन वन कार्यालयका प्रमुख गौचरण चौधरीले मोहन्याल सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको लागि भवन निर्माणको समितिको निर्णय सहित जानकारी गराएको उल्लेख गर्दै सङ्घसंस्थाको नाममा भवन निर्माण भइरहेको जानकारी नहुने गरेको बताउनुभयो ।

२०७४ सालको स्थानीय चुनावपछि धेरै नगरपालिका तथा वडाका भवनसमेत सामुदायिक वनको जग्गामा बनेको बुझिन्छ । डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत सुरेन्द्र कठायतले सामुदायिक वन उपभोक्ता समितिको बाहेक कुनैपनि संरचना कानुन सम्बन बनाउन नमिल्ने बताउनुभयो । उहाँले सरकारी भवनसमेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाएको उल्लेख गर्दै विद्यालय भवन, सामाजिक सङ्घसंस्था, वडा कार्यालय वनको जग्गामा बनेको बताउनुभयो ।

“राज्यकै एउटा अङ्ग अर्को अङ्गसँग लड्नुपर्ने जस्तो काम भएको छ । नेपाल सरकार वन मन्त्रालयले भोगाधिकार दिएको बाहेक वन क्षेत्रमा बनेका संरचना अवैधानिक तवरले बनेका छन्,” वन अधिकृत कठायतले भन्नुभयो । उहाँले हालैमात्र सबै सामुदायिक वनलाई सामुदायिक वनको जग्गामा बनेका संरचनाको बारेमा तथ्याङ्क पठाउन पत्राचार गरिएको समेत जानकारी दिनुभयो ।

यता डिभिजन वन कार्यालय कैलालीका डिभिजन प्रमुख केशव पराजुली समेत पछिल्लो समय संस्थागत संरचना निर्माणले सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण बढ्दै गएपनि यकिन तथ्याङ्क नभएको स्विकार्नुभयो । कानुनी रूपमा संरचना निर्माण गर्न नपाउने भएपछि सरकारी भवन, सङ्घसंस्थाका भवन निर्माण समेत सामुदायिक वन उपभोक्ता समितिकै प्रयोजन राखेर निर्णय गरी बनाइने भएकाले पनि तथ्याङ्क उपलब्ध नभएको जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter