छोरी बिरामी भएपछि चम्केको ड्रयागन फ्रुट खेती

बोमलाल गिरी / नवलपुर, भदौ ८ गते । केही समयअघि राम सारु मगरको भाइको छोरीलाई रगत क्यान्सर भयो । लामो समय चितवन क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुभयो । चिकित्सकहरुले विरामी छोरीलाई फलफूल बढी खुवाउन सुझाव दिए । रगतलाई शुद्धिकरण गर्न फलफूलले मद्दत गर्नेभएकाले सकेसम्म ड्रयागन फ्रुट र तरकारीमा कुरिलो खुवाउन चिकित्सकहरुको सुझाव थियो । त्यहीबेलादेखि सारु मगरले कावासोती सदरमुकाममा ड्रयागन फ्रुटको खेती सुरु गर्नुभयो ।

दुई छोरा र दुई छोरीका बुबा ६० वर्षीय मगरका सबै छोराछोरी कमाउने भएका छन् । एउटा छोरा अष्ट्रेलिया र अर्को साउदीमा छन् । एउटी छोरी मध्यविन्दु जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी छिन् भने अर्की छोरीले आफ्नै व्यवसाय सुरु गरेको उहाँको भनाइ छ ।

सानो व्यवसाय, राम्रै आम्दानी

उहाँसँग १५ धुर मात्र जग्गा छ । विरुवा पनि ४८ खम्बा मात्र । तर उहाँले सुरु गरेको ड्रयागन फ्रुटको माग बढी छ । आफ्नो उत्पादन उहाँको एकै छिनमा सकिन्छ । नजिकै अन्य पाँच जना छिमेकीले पनि त्यही खेती गरेका छन् । जसको फाइदा सारु मगरले उठाउनुभएको छ ।

आफ्नो उत्पादन सकिएपछि उहाँले छिमेकीको बगानबाटै खरिद गर्नुहुन्छ र आफ्नै बारीको कुनामा राखेर व्यापार गर्नुहुन्छ । छिमेकीबाट साढे ४ सय रुपियाँ किलोमा खरिद गरेर प्रतिकिलो पाँच सय रुपियाँमा बेच्नुहुन्छ ।

शुक्रबारका दिन सिमसिम पानी परिरहेको छ । बारीमै बसेका सारु मगरले छेउमा दुई वटा ड्रयागन फ्रुटका कार्टुन राख्नु भएको छ । टेबलमाथि ढक–तराजु अनि एउटा प्लेट र चक्कु पनि छ । यो फलको महत्व बुझेका अनि स्वाद मन पर्नेहरुले पैसा भएसम्म खरिद गरेर लग्नेगरेको उहाँले बताउनुभयो ।

दैनिक १५ देखि २० किलो बिक्री भइरहेको उहाँले बताउनुभयो । प्रतिकिलोमा ५० रुपियाँ नाफा हुनेगरेको उहाँको भनाइ छ । सानो व्यवसायबाट उत्साहित सारु मगर यसलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । आफ्नो जग्गा थोरै भएकाले भाडामा जग्गा लिएर खेती विस्तार गर्ने उहाँको तयारी छ ।

‘स्याहार सुसार र मलजल धेरै गर्नुपर्ने भएकाले एक्लै गर्दा अलि गाह्रो हुन्छ । साथीभाइ मिलेर क्षेत्र विस्तार गरी साझेदारीमा खेती गरौं भन्ने सल्लाह भइरहेको छ’ उहाँले भन्नुभयो, “विरुवा उत्पादनको काम भइरहेको छ । आफूले लगाउने भनेर तयार गरेका झण्डै पाँचसय विरुवा त मैले बेचिसकें ।’

विष्ट आदर्श पात्र

मन्त्रीसमेत भइसकेका पूर्व माओवादी नेता लोकेन्द्र विष्ट मगरसँग राम सारुको भेटघाट भएको छैन । दोहोरो चिनजान पनि छैन । तर विष्टले दाङमा गरेको खेतीका बारेमा आफू जानकार रहेको उहाँले बताउनुभयो ।

समाचार र युट्युवमा आएका कुराहरुका बारेमा उहाँले राम्रै जानकारी राख्ने गर्नुभएको छ । भाइको छोरीलाई क्यान्सर भएका बेला चिकित्सकले यसको महत्वबारेमा बताएपछि उहाँले यो खेतीका बारेमा जानकारी लिन थाल्नुभएको बताउनुभयो । उहाँले विष्टलाई आदर्श पात्रको रुपमा लिनेगरेको बताउनुभयो ।

फ्रुटका फाइदा

ड्रयागन फ्रुट विदेशी फल हो । यसको प्रयोग खासै नगरिए तापनि अचेल यसको खेती व्यापक बन्दैगएको छ । यो फल हेर्दा राम्रो देखिएझैं स्वाद पनि उत्तिकै मिठो र स्वास्थ्यका लागि लाभदायक मानिन्छ । चिकित्सकका अनुसार यसमा क्याल्सियम, आइरन, फस्फोरस, भिटामिन ‘बि’, ‘सी’, कार्बोहाइट्रेड, प्रोटिन र फ्याट पाइन्छ ।

मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार यो फलमा फाइबरको मात्रा पाइने हुनाले मधुमेह रोग लाग्न नदिन मद्दत गर्दछ । पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसमा पाइने भिटामिन ‘बि २’ ले शरीरमा मल्टिभिटाभिनको काम गर्छ ।

यो फलको रसको प्रयोगले कपाललाई स्वस्थ र बलियो बनाउन मद्दत गर्छ । शरीरको अनावश्यक तौल कम गर्नमा सहयोगी हुन्छ । क्यान्सर रोग लाग्नबाट रोक्न मद्दत गर्छ । यसमा क्यल्सियम र फस्फोरस पाइने हुनाले दाँत र हड्डीलाई मजबुत बनाउँछ । भिटामिन ‘सी’ पाइने हुनाले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुनेगरेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter