सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड

दिपकप्रसाद गौतम / वीरगञ्ज, भदौ ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ। वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।”

उहाँले पुराना एजेण्डा र पुरानो विचारले लड्न नसकिने भएकोले र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको समेत प्रष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ।” उहाँले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ।

‘अब राम्रो बाहेक अरु गर्नुपर्ने मेरो कुनै कारण छैन’

प्रधानमन्त्री प्रचण्डले अब राम्रोबाहेक अरु काम गर्नुपर्ने आफ्नो कुनै कारण नरहेको बताउनुभएको छ। उहाँले जीवनको उत्तरार्धमा नेपाली जनताले सम्झने गरी केही राम्रा काम गर्न सकिने विचार व्यक्त गर्नुभयो।

पीडितहरु शासन गर्ने स्थानमा आएपछि पहिले सामन्ती शासकले यिनीहरुलाई हटाउनुपर्छ भनी जाइलाग्ने गर्दछन् भन्ने भनाइलाई स्मरण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले क्रान्ति गर्नुभन्दा क्रान्तिबाट प्राप्त उपलब्धिलाई स्थापित गराउन कठिन हुने दाबी गर्नुभयो।

आफूले दुई-दुई पटक संविधान संशोधनको प्रस्ताव लगे पनि अन्य दलले साथ नदिएकाले संशोधन गर्न नसकिएको भन्दै उहाँले सदन, सडक सरकारका तीनवटै मोर्चाबाट यो संविधानलाई अझ परिमार्जन संशोधनसहित पूर्णतातिर लैजाने उहाँले दाबी गर्नुभयो।

सरकारले केही पनि गरेन, केही पनि भएन भन्ने कुरा साँचो नभएको जनाउदै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य कार्यभार बनाएर सरकार अगाडि बढेको प्रष्ट पार्नुभयो।

शिक्षा ऐनमा नयाँ ढङ्गले जाने, नर्सिङ शिक्षाको एउटा नयाँ योजना र अभियानसहित जाँदै गरेको बताउदै उहाँले सामाजिक न्याय सुशासन र समृद्धिका निम्ती केही ठोस काम गरेको दाबी गर्नुभयो।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा गर्न जरुरी रहेकाले मोर्चा गठन गरिएको दाबी गर्दै संविधान माथिको खतरा अझै नटरेको खतराको घन्टी बजिरहेको बताउनुभयो। संविधान रक्षागर्ने , प्राप्त उपलब्धिलाई संस्थागत गर्ने विचार मिलेकाले चार दल मिलेर समाजवादी मोर्चा गठन गरेको जिकिर गर्नुभयो।

मोर्चा सम्बद्ध चारै दल मिलाएर अब प्रदेश र जिल्लामा कमिटी विस्तार गरिने मोर्चालाई स्थानीय निकायसम्म सक्रिय बनाएर लैजाने योजना रहेकोसमेत उहाँले स्पष्ट पार्नुभयो।

सन्देशसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवले नेपाल गणतन्त्र स्थापना भएको १५ वर्ष र संघीयता लागू भएको आठ वर्ष बितिसक्दा पनि गणतन्त्र र संघीयता बलियो हुन नसकेकाले संघीयता एंव गणतन्त्र विरोधी षडयन्त्रमा लागेको आशंका व्यक्त गर्नुभयो।

वीरगञ्जको नगर सभागृहमा आयोजित उक्त सन्देश सभालाई मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एंव जनता समाजवादी पार्टीका नेता लालबाबु राउत गद्दीले सम्बोधन गर्नुभएको थियो भने नेकपा एकिकृत समाजवादी पार्टी नेता एंव मोर्चाका सदस्य सचिव प्रमेश हमालले मोर्चाको घोषणापत्रमा रहेको प्रस्तावना र उद्देश्य पढेर सुनाउनुभएको थियो।

नेकपा एकिकृत समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न प्रदेश स्तरीय उक्त सन्देश सभामा मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter